स्कूलमा मात्र १० कक्षासम्म नेपालीको अध्ध्ययन् गरेको एक शिकारू हूँ म नेपाली भाषामा । मेरा बुवा जैनेन्द्र जीवन लेखक हुन् भने मेरा स्वर्गीय ठूला हजुरबुवा केशवराज पिँडाली पनि नेपाली सहित्यका प्रसिद्ध हाँस्य व्यङ्ग लेखक हुन् । म सानो हूँदा रातो बंगला स्कूलमा मेरा नेपाली कविताका गुरु श्री कमल दिक्षित पनि एक प्रसिद्ध साहित्यकार हुन् । कविता र सहित्यमा मेरो सानैदेखि रुचि रहेकोले मेरा बुवाले मलाइ आफूसँग एकफेर कवि सम्मेलन गोष्ठीमा चित्वन लगेका थिए । त्यस भ्रमणमा मैले माधव घिमिरे जस्ता प्रसिद्ध लेखकका साथसाथै अन्य धेरै लेखखरुसँग भेटको मौका पाएँ । गजलशिरोमणि नाम दिइएका गजलकार ज्ञानुवाकर पौडेल मेरो बुवाका घनिष्ट मित्र हुन् । यि व्यक्तित्वहरुबाट मैले प्राप्त गरेको कविता र छन्दको ज्ञान आज म यस ब्लगका पाठक वर्गहरु माझ बाँड्न चाहन्छु ।
छन्दमा नलेखिएका कविताहरु पनि उत्कृष्ट हुनसक्छन् र राम्रो कविता लेख्न छन्द नै अपनाउन पर्छ भन्ने छैन । यसको एक उदाहरण हो यो तल दिइएको कविता । भूपि शेरचनद्वारा रचित “मेरो चोक” कविताबाट लिइएको एक श्लोक:
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ, केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।।
कुनै छन्दमा नलेखिए पनि यस कविता कति मर्मस्पर्शी छ । यसैगरी छन्दमा लेखिएको कविता पनि आफ्नै ढंगमा मीठो हुन्छ । छन्द भनेको कविताको लय हो । तर यो लय कसरी बन्छ त? यस प्रश्नको उत्तर हो - ह्रस्व र दीर्घ । छन्द साश्त्रमा ह्रस्वलाई लघु र दीर्घलाई गुरु भनिन्छ, र लेख्दाखेरि ह्रस्वलाई ” I “ र दीर्घलाई ” S “ लेखिन्छ । कुन पद ह्रस्व र कुन पद दीर्घ हुन्छ भनेर तल दिइएको छ ।
अ, इ, उ - ह्रस्व
आ, ई, ऊ, ए, ऐ, ओ, औ, अं, अ: – दीर्घ
“अं” ले आधा अक्षर जनाउँछ । “ग” र “गर्” दुबै एक पद हुन्छन्, तर ग (जस्तै अ) ह्रस्व हुन्छ भने गर् (जस्तै अं) दीर्घ हुन्छ । त्यसैगरी छन्द मिलाउनको निम्ति “अ:” को प्रयोग पनि गर्न सकिन्छ । जस्तै, “दुख” म यदि “ख” लाई दीर्घ बनाउन परेमा, ख: बनाउन सकिन्छ । यो गर्दा ख को उच्चारण अलि लामो हुन जान्छ । उदाहरणको लागि तल दिइएको श्लोक पढ्नुहोस् ।
के हो अहो अमृत त्यो सुरदेव पान?
सच्चा कमाइ गरि खानु भनेर जान ।
खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ?
आफू मिटाइ अरुलाइ दिनू जहाँ छ ।
यो महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताको पहिलो श्लोक हो । यो कविता “वसन्त कुसुमाकर” छन्दमा रचित छ । यो छन्दको बनावट यस प्रकार छ :-
S S I S I I I S I I S I S I
कविताको हरेक अक्षरलाई यदि यो ह्रस्व र दीर्घको बनावटमा मिलाएर हेर्नुभयो भने सबै ठ्याक्कै मिल्न जान्छ । यस छन्दको आखिरी पद ह्रस्व भएपनि कतै कतै दीर्घ लेखिएको हुन्छ । यस्तोबेलामा खास अक्षर ह्रस्व भएनि फरक पर्दैन किनकि कविता वाचन गर्दा आखिरको पदलाई लामो तानेर नै उच्चारण गरिन्छ । याद गर्नुहोस्, कविले छन्द मिलाउने क्रममा केही शब्दहरुको हिज्जे गलत लेखेका छन् । उदाहरणका लागि, “लाई” हुनुपर्ने ठाउँमा “लाइ” छ । यो गलत मानिदैन, केवल यस “इ” को उच्चारण छोटो हुन जान्छ । हिज्जे नबिगारिकन छन्द मिलाउन सके झनै राम्रो, तर गार्हो जरूर हुन्छ । महाकविले त छन्द मिलाउन हिज्जे बिगार्दथे भने हामीलाई त अवश्य माफ होला !!
आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा भानुभक्तले धेरै छन्दको प्रयोग गरेका छन्, खासगरी “शार्दुलवीकृडित” र “शिखरीणि” छन्दहरु । यि दुबै छन्द संस्कृतका छन्दहरु हुन् । नेपाली कविताहरुमा संस्कृतका छन्दहरु प्रयोग गर्न सकिन्छ, अथवा अरु नेपाली नया छन्दहरु । संस्कृतका छन्दहरु नेपाली मात्र नभइ हिन्दी र बंगाली जस्ता भाषाहरुमा पनि पाइन्छ । तल भानुभक्त रामायणको बालकाण्डको पहिलो श्लोक दिइएको छ ।
एक् दिन् नारद सत्यलोक् पुगिगया, लोक् को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा, खुशी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी, मर्जी भएथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले, बिन्ती गर्या यो तसै ।।
यो श्लोक शार्दुलवीकृडित छन्दमा छ । यसै छन्दमा लेखिएको अर्को कविताको उदाहरणका लागि लिउँ यो तल दिइएको श्लोक । भीमनिधि तिवारीद्वरा रचित “काम्यो लुगलुग त्यो” कविताको पहिलो श्लोक हो यो ।
मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो ।
छानामा, पथमा तथा चउरमा चीनी छरे झैँ थियो ।।
जाडो खूब थियो, समस्त जलमा ऐना जमेको थियो ।
काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यस्मा दया गर्छ को ।।
तल दिइएको अर्को श्लोक बालकृष्ण समको “इच्छा” कविताको पहिलो श्लोक हो । नेपालमा SLC स्तरको नेपाली पढेकाहरुले कक्षा १० को नेपाली पुस्तकमा पनि यो कविता पढेको हुनुपर्छ । यो श्लोक पनि शार्दुलवीकृडित छन्द मै छ ।
इच्छा यो छ महेश, अन्तिम जसै यो मृत्युसैया जली
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छट्पटी
त्यो बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल
जे-जेमा हिमशैलको छ मधुरो मीठो चिसो चुम्बन ।।
शार्दुलवीकृडित छन्द शार्दुल र बीकृडित गरी दुइवटा छन्द मिलेर बनेको हुन्छ । यसको बनावट यस प्रकार छ :-
S S S I I S I S I I I S S S I S S I S
माथिको दुबै कविताहरुलाई यस् छन्दको बनावटसँग दाँज्नु भएमा सबै हिज्जे मिल्नेछ । मैले अघि भने झैँ, आखिरीको पदमा ह्रस्व लेखे पनि दीर्घ नै मानिन्छ किनकि यो पदलाई वाचन गर्दा लामो उच्चारण गरिन्छ । यसैगरी, अब रामायणको अयोध्या काण्डको शिखरीणि छन्दमा रचित एक् श्लोक पढौँ । राम बनवास जानु अघी रामले भनेका शब्दहरु हुन् यि :-
गयो खान्या वेला मकन त मिल्यो रज्य वनको ।
भरत् ले राज् पाया यहिं बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस् खुशिसित म जान्याछु वनमा ।
म चाँडै फिर्न्याछू विरह न हवस् कत्ति मनमा ।।
शिखरीणि छन्दको बनावट यस प्रकार हुन्छ ।
I S S S S S I I I I I S S I I I S
यो बनावटसँग माथिको श्लोकलाई मिलाएर हेर्नुहोस्, अवश्य मिल्नेछ ।
यसैगरी अरु पनि धेरै छन्दहरु हुन्छन्, जस्तै मालिनि (माधव घिमिरेको “चरीको व्यथा”), अनुष्टुप (यो छन्दमा केही पदहरु खूला हुन्छन्, यानि ह्रस्व र दीर्घ जे लेखे नि हुन्छ, त्यसैले यो छन्दलाई सरल मानिन्छ), मन्दाक्रान्ता, र अरु धेरै हुन्छन् । झ्याउरे छन्दमा पनि धेरै कविता पाइन्छ । तल, यसै छन्दमा लेखिएको भूपि शेरचनको “सहीदहरुको सम्झनामा” कविताको एक श्लोक प्रस्तुत छ ।
हुँदैन बिहान मिर्मिरमा तार झरेर नगए ।
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए ।।
यसै छन्दमा रचित मुनामदनको एक श्लोक पनि प्रस्तुत छ ।
हातका मैला सुनका थैला, के गर्नु धनले?
साग र सिस्नु खाएको वेस आनन्दी मनले ।
यस छन्दको लय हाम्रो नेपाली झ्याउरे गीत जस्तै हुन्छ, त्यसैले यसको नाम झ्याउरे छन्द हुन गएको हो । आशा छ यो लेखले तपाईँहरुमाझ छन्दहरुको बारेमा केही नौला कुराहरु प्रस्तुत गर्यो होला । पाठकवर्गमा कसैले यस विषयमा रुचि जनाएमा मलाइ आउने यि केही छन्दहरुको भाका सुनाउन म mp3 मा केहि कविता वाचन गरेर पनि पोस्ट गरिदिनेछु । धन्यवाद ।