Wednesday, March 31, 2010

गणतान्त्रिक धुन ।।

पल्लवी अनुराग
सल्यान वहुमुखि क्याम्पस खलङ्गा सल्यान
शिक्षाशास्त्र संकाय, स्नातक तह, दोस्रो वर्ष











आजभोली
सविंधान बनाउने गणतान्त्रिक धुन,
निरन्तर बजिरहेछ ।
हामी त्यही धुन सुनेर,
खुसियाली मनाइरहेका छौँ ।
यि धुनहरुसँगै
अरु धुनहरुपनि बज्न थालेका छन् ।
र, तालहरुपनि फेरीन थालेका छन् ।।


त्यसैले
धुनहरुमा अनेकता पाइन थालेका छन् ।
धुनहरुमा विविधता देखिन थालेका छन् ।
यसरी हामीहरु
आ–आफ्नै धुनहरुमा खुसि मनाइरहेका छौँ ।
कोही भन्छन्
राजतन्त्रको अन्त्यपछि,
सघिंयताको धुन बजेको हो ।
कोही भन्छन् १० वर्षे जनयुद्धले,
कोही भन्छन् वाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले,
अनि,
कोही भन्छन् आम नेपालीहरुको चाहनाले ।


जे सुकै भएपनि,
गणतन्त्रको धुन आजभोली निरन्तर बजिरहेछ ।
तलदेखि माथी सम्मकाले,
झुपडिदेखि महल सम्मकाले
अनि
सिंहदरवार देखि स्यालदरवार सम्मकाले
यो धुन बजाइरहेका छौँ ।
अथवा,
यसको उपभोग गरीरहेका छौँ ।
हुनत हामीले धेरै धुनहरु सुनिसकेका छौँ ।
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी
कसैका धुनहरु मिल्दैनन्,
थरीथरीका छन् ।
कसैका तालहरु मिलदैनन्,
थरीथरीका छन् ।

यहाँ
मात्र आ–आफ्नै धुनहरु बजिरहेका छन् ।
सवैको एउटै धुन बन्न सकेको छैन ।
सवैको एउटै ताल बन्न सकेको छैन ।
तर,
यो गणतन्त्रको धुनमा नाच्नेहरु,
आ–आफ्नै तालमा नाचेका छन् ।
कोहि खुसिले नाचेका छन् ।
कोही विस्मातले नाचेका छन् ।
कोही सविंधान बनाउन नाचेका छन् ।
कोही बन्न नदिन नाँचेका छन् ।
आखिर,
सवैलाई आ–आफ्नै तालमा नाच्न मन लाग्छ ।
कीनकि यो गणतान्त्रिक धुन हो ।
यसमा सवैको समान अधिकार छ ।
धुनको समान अधिकार छ ।
सायद त्यसैले होला
मान्छेहरु,
कोही राष्ट्रिय धुनमा छन् ।
कोही अन्र्तराष्ट्रिय धुनमा छन् ।
कोही सघिंय धुनमा छन् ।
कोही क्षेत्रिय धुनमा छन् ।
कोही जातीय धुनमा छन् ।
अनि कोही छुट्टै राज्यको धुनमा छन् ।


जेहोस्, गणतान्त्रिक धुनलाई,
सवैले सुनेर उपयोग गरीरहेका छन् ।
भोली यो धुन कसरी बज्ने हो, थाहा छैन ।
तर धुनले हरेक दिन,
आफ्नो उचाई बढाउदै छ ।
स्थाईत्व कायम गर्दैछ ।
त्यसैले त,
धुनहरुसँग समुह देख्न थालिएका छन् ।
मण्डली भेट्न थालिएका छन् ।
तर
यहाँ अझैपनि मान्छेहरु,
कति शास्त्रीय धुनमा छन् ।
कति आधुनिक धुनमा छन् ।
कति उत्तरआधुनिक धुनमा छन् ।
यसर्थ
सवै नेपालीहरु आ–आफ्नै धुनमा छन् ।
सवै नेपालीहरु आफ्नै तालमा छन् ।
कसैले कसैको धुन सुनेका छैनन् ।
कसैले कसैको ताल सुनेका छैनन् ।

यहाँ त केवल
गणतान्त्रिक धुन बजिरहेछ ।
सत्ताका लाई सत्ताको धुन बजिरहेछ ।
पदका लाई पदको धुन बजिरहेछ ।
तर, जनतालाई भने,
महंगीको, गरीवीको, रोगको अनि भोकको धुन बजिरहेछ ।
चारी डकैती, हत्या अनि अपहरणको धुन बजिरहेछ ।
जमिम, अरुण जस्ता कलमहरु कसैको धुन बनिरहेका छन् ।
यथार्थमा,
असुरक्षाको धुन बजिरहेछ ।
दण्डहिनताको धुन बजिरहेछ ।


एउटै देशका फरक–फरक धुनहरु ।
एउटै देशका फरक–फरक तालहरु ।
गणतान्त्रिक धुनसँग मिसिएर,
निरन्तर बजिरहेछन् ।।
कोही बाँच र लेख्न देऊको धुन बजाईरहेछन् ।
कोहि शान्तिसुरक्षाको धुन बजाईरहेछन् ।
धुन बजिरहेका छन् ।
कतै चर्को त कतै मधुरो बजेका छन् ।
कतै मधुरो त कतै चर्को सुनिएका छन् ।
तर धुन बजिरहेका छन् ।
वास्तवमा,
सत्ताका धुनहरु तल धेरै सुनिएका छन् ।
जनताका धुनहरु माथी थोरै सुनिएका छन् ।
यहाँ गणतान्त्रिक धुन यसरी नै गुञ्जिरहेछ ।
हामी सवैले सुनिरहेका छौँ,
गणतान्त्रिक धुन मज्जैले सुनिरहेका छौँ ।
त्यही धुन सुनेर खुसियाली मनाईरहेका छौँ ।

तर यो धुन,
अव कहिले सम्म बज्ने हो थाहा छैन ।
तैपनि हरेकले धुनको आशा गरेका छन् ।
तैपनि हरेकले धुनको भरोसा गरेका छन् ।
किनकी,
यो धुन,
युगौँपछि गुञ्जेको मौलीक धुन हो ।
त्यसैले धुनसँग हरेकको जिवन गुञ्जिनुपर्छ ।
त्यसैले धुनसँग हरेकको विचार समेटीनुपर्छ ।
किनभने,
यहि धुनको लागी,
धेरैले रगत बगाएका छन् ।
धेरैले पसिना पोखाएका छन् ।
धेरैले सिन्दुर पुछेका छन् ।
धेरैले आफन्त गुमाएका छन् ।
तसर्थ,
गणतान्त्रिक धुन, मात्रधुन बन्नुहदैन,
देशको धुन बन्नुपर्छ ।
विकासको धुन बन्नुपर्छ ।
शहिदको सपनाको धुन बन्नुपर्छ ।
तोकीएकै समयमा सविंधान लेख्ने धुन बन्नुपर्छ ।
राष्ट्रको धुन बन्नुपर्छ ।
राष्ट्रियताको धुन बन्नुपर्छ ।
राष्ट्रिय एकताको धुन बन्नुपर्छ ।।।।

धन्यवाद ।