सल्यान साउन २२ – बर्खामा सडक बन्द भएपछि सल्यानको बाफुखोला गाउँमा उत्पादित ५ हजार क्वीण्टल आलु किसानको घरमै थन्किएको छ ।
लगातारको वर्षाका कारण राप्ती राजमार्गको
यातायात अनियमित भएपछि किसानले आलु बेच्न नपाएका हुन् । गाउँमा आलुले भाउ
पाउन सकेको छैन भने घरमा भण्डारण गर्दा कुहिएर सकिने चिन्ता किसानहरुमा छ ।
स्थानीय बजारमा प्रतिकिलो १७ रुपैयाँमा
आलु बिक्री गर्नुपरेको किसानहरुले बताएका छन् । बाफुखोलाको वडा नं. १, २ र
३ मा धेरै आलु उत्पादन हुन्छ ।
‘मेरो बारीमा मात्रै ९५ क्वीण्टल आलु
फलेको छ’ वाफुखोला ३ का टेकबहादुर वलीले भन्नुभयो ‘मान्छेले बोकेर लैजादा
बजार पुर्याउन २ दिन लाग्छ, ढुवानी पनि महङ्गो पर्छ ।’ यो गाउँमा एक
परिवारले कम्तीमा २५ क्वीण्टल आलु उत्पादन गर्छन् भने धेरैमा १ सय ५०
क्वीण्टलसम्म आलु फलाउँछन् ।
‘कतिपयले खच्चडमा बोकाएर राप्ती
राजमार्गका खौला, वांगेलाकुरी, थारमारे लगायतका ठाँउसम्म बिक्री गर्न
लैजान्छन्’ वाफुखोला ३ का गणबहादुर वलीले भन्नुभयो ‘तर यसरी लैजाँदा एक
किलो आलुको २५ रुपैयाँसम्म पर्छ, अनि कसले किन्छ ?’
गएको वर्ष ३० जना स्थानीय ब्यापारीले ६
हजार क्वीण्टल आलु बिक्रीका लागि लगेका थिए । यो वर्ष त सडक बिग्रिएकाले
आलु बिक्रीका लागि लैजान नसकेको व्यापारी खगेन्द्र केसी बताउनुभयो ।
समयमा नै आलु बिक्री गर्न नपाएका
किसानलाई बिभिन्न संघ संस्थाले भण्डारणका लागि सहयोग गर्ने भएका छन् । लघु
उद्यम विकास कार्यक्रम–मेडेपको सहयोगमा दलित विकास समाज सल्यानले आलु
भण्डारणका लागी सहयोग गर्ने भएको हो ।
कार्यक्रम मार्फत झण्डै ४५ जनालाई आलुको
गुणस्तरीयता कायम गर्नका लागी विभिन्न प्राविधिक सीप तालिम दिइने र आलु
भण्डारण कक्ष निर्माण गरिनेछ । यसका लागि झण्डै ३ लाख रुपैयाँ खर्च गरिनेछ
।
यस्तै शान्ति तथा पुनर्निर्माण
मन्त्रालयले पनि आलुको भण्डारणका लागि एउटा भवन निर्माण गरिसकेको छ ।
आलुलाई कुहिनबाट जोगाएर वेमौसममा बजारमा लैजान सकिएमा यसले किसानको आर्थिक
आम्दानीमा थप वृद्धि गर्ने मेडेपले जनाएको छ ।