Showing posts with label विजनेश. Show all posts
Showing posts with label विजनेश. Show all posts

Tuesday, August 6, 2013

सल्यान वाफुखोलामा ५ हजार क्वीण्टल आलु गाउँमै थन्कियो



पुरुषोत्तम गिरी
सल्यान साउन २२ – बर्खामा सडक बन्द भएपछि सल्यानको बाफुखोला गाउँमा उत्पादित ५ हजार क्वीण्टल आलु किसानको घरमै थन्किएको छ ।
लगातारको वर्षाका कारण राप्ती राजमार्गको यातायात अनियमित भएपछि किसानले आलु बेच्न नपाएका हुन् । गाउँमा आलुले भाउ पाउन सकेको छैन भने घरमा भण्डारण गर्दा कुहिएर सकिने चिन्ता किसानहरुमा छ ।
स्थानीय बजारमा प्रतिकिलो १७ रुपैयाँमा आलु बिक्री गर्नुपरेको किसानहरुले बताएका छन् । बाफुखोलाको वडा नं. १, २ र ३ मा धेरै आलु उत्पादन हुन्छ ।
‘मेरो बारीमा मात्रै ९५ क्वीण्टल आलु फलेको छ’ वाफुखोला ३ का टेकबहादुर वलीले भन्नुभयो ‘मान्छेले बोकेर लैजादा बजार पुर्‍याउन २ दिन लाग्छ, ढुवानी पनि महङ्गो पर्छ ।’ यो गाउँमा एक परिवारले कम्तीमा २५ क्वीण्टल आलु उत्पादन गर्छन् भने धेरैमा १ सय ५० क्वीण्टलसम्म आलु फलाउँछन् ।
‘कतिपयले खच्चडमा बोकाएर राप्ती राजमार्गका खौला, वांगेलाकुरी, थारमारे लगायतका ठाँउसम्म बिक्री गर्न लैजान्छन्’ वाफुखोला ३ का गणबहादुर वलीले भन्नुभयो ‘तर यसरी लैजाँदा एक किलो आलुको २५ रुपैयाँसम्म पर्छ, अनि कसले किन्छ ?’
गएको वर्ष ३० जना स्थानीय ब्यापारीले ६ हजार क्वीण्टल आलु बिक्रीका लागि लगेका थिए । यो वर्ष त सडक बिग्रिएकाले आलु बिक्रीका लागि लैजान नसकेको व्यापारी खगेन्द्र केसी बताउनुभयो ।
समयमा नै आलु बिक्री गर्न नपाएका किसानलाई बिभिन्न संघ संस्थाले भण्डारणका लागि सहयोग गर्ने भएका छन् । लघु उद्यम विकास कार्यक्रम–मेडेपको सहयोगमा दलित विकास समाज सल्यानले आलु भण्डारणका लागी सहयोग गर्ने भएको हो ।
कार्यक्रम मार्फत झण्डै ४५ जनालाई आलुको गुणस्तरीयता कायम गर्नका लागी विभिन्न प्राविधिक सीप तालिम दिइने र आलु भण्डारण कक्ष निर्माण गरिनेछ । यसका लागि झण्डै ३ लाख रुपैयाँ खर्च गरिनेछ ।
यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले पनि आलुको भण्डारणका लागि एउटा भवन निर्माण गरिसकेको छ । आलुलाई कुहिनबाट जोगाएर वेमौसममा बजारमा लैजान सकिएमा यसले किसानको आर्थिक आम्दानीमा थप वृद्धि गर्ने मेडेपले जनाएको छ ।

Monday, July 22, 2013

सल्यानमा ३४ करोड वजेट फ्रिज

दिपक शर्मा
सल्यान ३, साउन । आर्थिक वर्ष २०६९÷०७० मा सल्यानमा ३४ करोड वजेट फ्रिज भएको छ । विभिन्न शिषर्कमा जिल्लामा प्रापत हुने रकम समयमै उपलव्ध हुन नसकेपछि  जिल्लामा ३४ करोड ६ लाख १ हजार रुपैया खर्च हुन नसकेपछि फ्रिज भएको हो । जसमध्यै सवै भन्दा वढि राप्ती राजमार्ग अन्तर्गत सल्यान रुकुम मुसिकोट सडक खण्ड ओटाशिलका लागि प्राप्त  २८ करोड २१ लाख रुपैया फ्रिज भएको कोष तथा लेखानियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

यस्तै रकम फ्रिज हुनेमा जिल्ला विकास समिति र त्यस अन्तर्गतका कार्यालयहरुको २ करोड ३८ लाख, जिल्ला शिक्षा कार्यालयको ९२ लाख रुपैया फ्रिज भएको छ । यस्तै जिल्ला स्वास्थ्य कार्यालयको ८० लाख खानेपानी तथा सरसफाई कार्यालयको २७ लाख जिल्ला प्रशासन कार्यालयको ८४ लाख रुपैया फ्रिज भएको छ । जिल्ला वन कार्यालयको १५ लाख रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका प्रमुख रविन्द्र अर्यालले वताउनुभयो ।

गत आर्थिक वर्षका लागि जिल्लामा १ अर्व ९७ करोड ८८ लाख रुपैया विनियोजन भएकोमा १ अर्व ६३ करोड रुपैया खर्च भएको छ । जिल्लामा प्राप्त हुने वजेट समयमै प्राप्त नभएको कारण र समयमै वजेट खर्च हुन नसकेपछि फ्रिज भएको अर्यालयको भनाई रहेको छ ।

जिविसबाट सञ्चालित योजनामा सवैभन्दा वढि झोलुङ्गे पुल निर्माणका लागि आएको रकम फ्रिज भएको छ । जसबाट ४६ लाख ६५ हजार रुपैया फ्रिज भएको छ । स्थानीय विकास अधिकारी मणी कुमार ज्ञवालीका अनुसार विनियोजित रकम अनुसारको कार्य हुन नसक्दा जिल्लामा प्राप्त भएको रकम फ्रिज भएको हो । आर्थिक वर्ष समाप्त भएकोले रकम फ्रिज भएको भएपनि केही योजनाहरुको रकम भने नयाँ आर्थिकवर्ष संगै पुन प्राप्त हुने स्थानीय विकास अधिकारी ज्ञवालीले जानकारी दिनुभयो ।


Thursday, July 18, 2013

एकै गाउँको २० लाखको तरकारी कुहियो ।

पुरुषोत्तम गिरी
सल्यान (रिम) साउन २,  वर्षाका कारण सडक अवरुद्ध भएपछि सल्यानको रिममा एकै गाउँको २० लाख भन्दा बढि मुल्यको तरकारी कुहिएको छ । वर्षाका कारण कपुरकोट सोलावाङ रिम सडकखण्ड एकहप्ता देखि बन्द छ ।
    किसानले बारीबाट टिपेर तरकारी संकलन केन्द्र सितलबजारमा चारदिन अघि तरकारी ल्याएकै वेलामा ठुलो पानी परेपछि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा २० वटा तरकारीका गाडि रिम मै अलपत्र परेका छन् । संकलन केन्द्रमा टमाटर, काउली, भान्टा, भेडेखुसानी, पिरो खुर्सानी, अदुवा लगायतका तरकारी कुहिएका छन् ।
    आफुहरुले किसानसँग खरिद गरेको २० लाख भन्दा बढिको तरकारी कुहिएको व्यापारीहरुले बताएका छन् । संकलन केन्द्रमा तरकारी किन्नका लागी गाडि ल्याएर धनगढि, महेन्द्रनगर, सुर्खेत, कोहलपुर नेपालगंजबाट आएका व्यापारीहरु पनि अलपत्र परेका छन् । धनगढिबाट तरकारी किन्नका लागी रिम आएका व्यापारी मुक्ति वास्तोलाले भने–किसानसँग किनेको मेरो मात्रै चार ट्रक तरकारी कुहियो, घाटा त त्यसै लाग्यो लाग्यो अव कुहिएको तरकारी कहाँ फाल्ने अर्को समस्या देखिएको छ । उनले आफ्नो मात्रै पाँच लाख बराबरको तरकारी कुहिएको बताए । अवको एक हप्ता सम्म पनि सडक सुचारु नभएमा किसानहरुको एक करोड बराबरको तरकारी बारीमै कुहिने किसानहरुले बताएका छन् ।
     स्थानिय तरकारी व्यापारी असोक बुढा, जित बहादुर शाहु, टिकाराम बुढा, ज्ञान बहादुर पुन लगायतका व्यापारीहरुले किसानहरुसँग तरकारी खरिद गरेर जिल्ला वाहिर पठाउदै आएका थिए । स्थानिय बजारमा किसानहरुले टमाटर प्रतिकेजी ३५ रुपैँया, काउली ४०, बन्दा १५, भेडे खुर्सानी ६५, पिरो खुर्सानी ५०, काँक्रो १५, अदुवा १०० तथा नास्पाती अदुवा, प्याज, धनिया, साग आदि विक्रि गर्दै आएका थिए तरकारी कृषक समेत रहेका स्थानिय व्यापारी अशोक बुढाले आफुहरुले विभिन्न निकायमा बाटो सुचारु गराउनका लागी आग्रह गरेको भएपनि कतैबाट सुनुवाई नभएको बताए ।  उनले भने–राप्ती राजमार्ग खुलाउन नै समस्या छ, साना सडकहरु संचालन गरेर किसानको पक्षमा लागिदिने को होला । सडक अवरुद्ध भएपछि सल्यानको रिम, सारपानी गर्पा, धनवाङ, त्रिवेणी लगायतको क्षेत्रमा लाखौँको तरकारी उत्पादन गर्दै आएका किसानहरु समस्यामा परेका छन् ।
(तस्वीर ः सल्यानको कपुरकोट क्षेत्रमा उत्पादित तरकारी संकलन केन्द्रमा वेच्दै किसानहरु )

Monday, July 15, 2013

कसको तलब कति पुग्यो ?

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले कर्मचारीहरूको तलब १८ प्रतिशत बृद्धि गरेपछि मुख्यसचिवको तलब रु. ४०६९५ पुगेको छ । यसअघि मुख्य सचिवले रु. ३३६४० बुझ्थे ।

तलबमा १८ प्रतिशत वृद्धि र मासिक रु एक हजार भत्ता थएिकापछि कर्मचारीहरूको तलब निम्न अनुसार हुने देखिन्छः–
हलुका सवारी चालक (रु.)
प्रथम १४३२२
द्धितिय १५४३१
तृतिय १७३४३
चतुर्थ १९६०९
पांचौ २०७५३
कार्यालय सहयोगी(रु.)
प्रथम १२८००
द्धितिय १३५२०
तृतिय १४३२२
चतुर्थ १५४३१
पांचौ १७०९५
सहायक स्तर(रु.)
सहायक द्धितिय १७००१
सहायक प्रथम १८०८६
अधिकृत स्तर(रु.)
तृतिय २३१७२
द्धितिय २५८७४
प्रथम ३०१९३
विशिष्ट ३८३८२
मुख्य सचिव ४०६९५

Sunday, July 14, 2013

५ खर्ब १७ अर्ब २४ करोडको बजेट, कर्मचारीको तलब १८ प्रतिशत बढ्यो, चुनावका लागि १६ अर्ब

काठमाडौं, असार ३० - आर्थिक वर्ष २०७०।०७१ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले कुल ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभयो । कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ ।

यो खर्च ब्यबस्थापन गर्न सरकारले राजस्व मार्फत ३ खर्ब ५९ अबै ३० करोड उठाउने लक्ष्य राखेको छ । यस्तै सावाँ भुक्तानी बाट ५ अर्ब ५० करोड र बैदेशिक सहयोगबाट ६९ अर्ब ५४ करोड उठाउने लक्ष्य छ । यो स्रोतबाट नपुगेर ७७ अर्ब घाटामा रहने बजेटको लागि ४३ अर्ब बैदेशिक ऋण र ४४ अर्ब आन्तरिक ऋणबाट पुर्ती गरिने छ ।
चुनावका लागि १६ अर्व

मंसिर ४ गतेको संविधानसभा चुनावलाई मुख्य दायित्व घोषणा गरेको सरकारले चुनावका लागि १६ अर्ब रुपैयाँ छुट्याएको छ । उर्जा, सडक, रेल,पर्यटन सिंचाईका राष्ट्रिय गौरवका योजनालाई उच्च प्राथमिकता दिने बजेटमा व्यवस्था गरिएको छ । सरकारले पशुपति क्षेत्र, लुम्बिनी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाईभर्सनलाई राष्ट्रिय गौरवका योजना घोषणा गरेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई बजेटमा दोब्बर रकम विनियोजन गरिएको छ । त्यस्तै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीका लागि २ अर्ब रुपैयाँ थप छुट्याइएको छ । हुलाकी राजमार्गका लागि २ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारी कर्मचारीको तलब १८ प्रतिशत वृद्धि

सरकारी कर्मचारीको तलब १८ प्रतिशतले बढेको छ । साथै हरेक कर्मचारीलाई मासिक १ हजार भत्ता दिइने अर्थ मन्त्रीले घोषणा गर्नुभयो । बजेटले न्यून आर्थिक वृद्धि, बढ्दो महंगी, आयातमा आधारित उत्पाद संरचना, बढ्दो श्रम बजार संकुचनलाई अर्थ व्यवस्थाको चुनौती मानेको छ ।

तर अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आर्थिक परिसूचक सन्तोषजनक भन्दै चुनौतीको सम्बोधन गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्नेमा जोड दिनुभएको छ ।

त्यस्तै उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएको छ। त्यसका लागि सरकारले निजी सहकारी र सार्वजनिक अवधारणामा जोड दिँदै सरकारले लगानी मैत्री वातावरण बनाउने बताएको छ । बजेटले पर्यटन क्षेत्रको विकास र सूचनाको विस्तार पनि गर्ने व्यवस्था गरेको छ ।
५ सय उपस्वास्थ्य चौकीको स्तरोन्नती गरिने

बजेटमा यो आर्थिक बर्षमा ५ सय उपस्वास्थ्य चौकीको स्तरोन्नती गर्ने, ५ हजार ८ सय नया विद्यालय भवन बनाइने, ७ हजार १ सय ४३ विद्यालयमा कम्प्युटर शिक्षा पुर्‍याइने, ३१ हजार ५ सय जना युवालाई छोटो प्राविधिक शिक्षा दिने, ६० हजार बालबालिका तथा एचआइभी प्रभावितलाई निशुल्क आधारभुत शिक्षा दिने तथा निशुल्क शिक्षा १२ बर्षसम्मलाई पुर्‍याउन १ अर्ब ८५ करोड रुपैया विनियोजन गरिएको छ ।

त्यस्तै, आधारभुत स्वास्थ्य सेवा निशुल्क बनाउन ५ बर्षभित्र स्वास्थ्य विमा देशैभरि पुर्याउने र यहि आर्थिक बर्षमा १५ जिल्लाबाट स्वास्थ्य विमा शुरु गरिने अर्थमन्त्रीले बताउनुभएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत १५ सय घरहरु बनाइने, कृषि र सहकारीको विकासका लागि एकसाथ कार्यक्रम अघि बढाइने, काठमाडौमा प्रदर्शनी स्थल बनाउने अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाइने र १ अर्ब भन्दा बढि लगानी गर्ने उद्यमीलाई सम्मान गर्ने पनि अर्थमन्त्री कोइरालाले बताउनुभयो ।

यस्तै तेश्रो मुलुकमा निकासी गर्ने उद्यमीलाई नगद अनुदान ले कार्यलाई निरन्तरता दिदै ३० करोड रुपैया छुट्टयाईएको छ । यस्तै बचत तथा ऋण सहकारी सस्थाको अनगमन राष्ट्र बैकको सहयोगमा सहकारी बिभागले गर्ने तथा समस्याग्रत भएको ठुला सहकारीको समस्या समाधान गर्न अधिकार सम्पन्न ब्यबस्थापन समिती गठन गर्ने ब्यबस्था गरिएको छ ।
करको दरमा सामान्य हेरफेर

यस्तै करको दायरा बढाउने नीति लिएको बजेटले करको दरहरुमा केहि सामान्य हेरफेर मात्रै गरेको छ । मदिरा जन्य बस्तुमा अन्र्तशुल्क बृद्धि गरिएको छ । शिक्षा सेवा कर आगामी असोज सम्म बुझाउनेलाई जरिवाना छुट , ईटा उद्योगलाई भ्याटमा दर्ता भएमा अघिको कारोबारमा कर छुटको ब्यबस्था गरिएको छ ।

चालु आर्थिक बर्षमा बिकास निर्माणका लागि छुर्‍ट्याईएको झण्डै १५ अर्ब रुपैयाँ खर्च नहुने भएको छ । अब बिकास निर्माणका लागि भुक्तानी गर्न सोमवार १ दिनको समय मात्रै बाँकी छ । आर्थिक वर्ष सकिन १ दिन मात्र बाँकी हुँदा पुँजीगत खर्च ४५ अर्ब रुपैयाँ मात्रै भएको छ ।

६४ अर्ब पुँजीगत खर्च बिनियोजन गरिएकोमा आज सम्म ४५ अर्ब मात्रै खर्च भएको र एकल कोष खाता लागू नभएका जिल्ला र भोली हुने भुक्तानी जोडेर ५० अर्बको हाराहारीमा मात्रै खर्च हुने देखिएको सहमहालेखा नियन्त्रक अर्जुनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो ४५ अर्ब मध्ये १५ अर्ब भन्दा धेरै पैसा पछिल्लो एक हप्तामा खर्च भएको छ । ४ खर्ब ४ अर्बको चालु बर्षको बजेट मध्ये आज सम्म ३ सय ३२ अर्ब रुपैयाँ खर्च भएको छ ।

कुल बजेट-५ खर्ब १७ अर्ब २४ करोड

कुल बजेट-५ खर्ब १७ अर्ब २४ करोड

खर्च
चालू-३ खर्ब ५३ अर्ब ४२ करोड अर्थात ६८.३३ प्रतिशत
पूाजिगत- ८५ अर्ब १० करोड अर्थात १६.४५ प्रतिशत
वित्तिय व्यवस्था-७८ अर्ब ७२ करोड अर्थात १५.२२ प्रतिशत

विकास बजेट-२ खर्ब ४१ अर्ब ५८ करोड अर्थात ४६.७ प्रतिशत
साधारण खर्च- २ खर्ब ७५ अर्ब ६६ करोड अर्थात ५३.३ प्रतिशत

आन्दानी
राजश्व-३ अर्ब ५४ अर्ब ५० करोड
साँबा फिर्ता-५ अर्ब ५० करोड
वैदेशिक अनुदान-६९ अर्ब ५४ करोड
वैदेशिक ऋण-४३ अर्ब ७० करोड
आन्तरिक ऋण-४४ अर्ब

Saturday, July 13, 2013

सरकारी वित्तीय संस्थामा एक कर्मचारीबापत मासिक ५३ हजार खर्च

पुँजी लगानीको अनुपातमा न्यून मुनाफा

२९ असार, काठमाडौं । वित्तीय क्षेत्रमा पछिल्लो समय उत्साहजनक प्रगति भएको चर्चा हुने गर्छ । सरकारी लगानी रहेका वित्तीय संस्था भने उच्च खर्च र न्यून आयमा सीमित रहेका पाइएको छ । अनावश्यक कर्मचारी, मितव्ययीमा उदासीनता र कर्मचाारीको अधिक सुविधाभोगी प्रवृत्तिले यस्तो अवस्था देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारी लगानी रहेका ९ वित्तीय संस्थामा कूल ६ हजार ४ सय १४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । यो नेपाल बैंक लिमिटेडबाहेकको तथ्यांक हो । यी संस्थाको कूल प्रशासकीय खर्च वाषिर्क ४ अर्ब ९ करोड २० लाख भएको देखिन्छ । जसअनुसार, प्रतिकर्मचारी वाषिर्क प्रशासकीय खर्च ६ लाख ३८ हजार अर्थात मासिक ५३ हजार रुपैयाँ हुन आउँछ । प्रतिकर्मचारी सञ्चालन नाफा भने मासिक ३८ हजार मात्र रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा क्रमशः ३३०३ र २६४४ को संख्यामा कर्मचारी कार्यरत रहेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकमा स्थायी २६४४ र करार १४६ जना रहेका छन् भने कृषि विकास बैंकमा स्थायी २८१३ र करार ४९० कर्मचारी रहेका छन् । सरकारको ३९ प्रतिशत सेयर रहेको नेपाल बैंक लिमिटेडमा पनि कर्मचारीको संख्या अत्यधिक रहेको छ । नेपाल बैंक लिमिटेडमा स्थायी कर्मचारी २१६९ र करारमा ६५३ रहेका छन् ।

निजी क्षेत्रका ठूला वाणिज्य बैंक २/३ सय कर्मचारीले सहजै सञ्चालन गरेको पाइन्छ । सरकारी बैंकका शाखा निजी बैंकको तुलनामा तीन गुणा बढी रहेका छन् तर कर्मचारी संख्या भने १० गुणा बढी रहेको पाइन्छ । निजी बैंकले ४ देखि ६ कर्मचारीले शाखा सञ्चालन गरेका छन् भने सरकारी बैंकमा १५ जनाभन्दा बढी कर्मचारी रहेको पाइन्छ । शाखा थपिए पनि प्रधान कार्यालयमा कर्मचारी थप गर्नु नपर्ने हुँदा शाखा संख्याको अनुपातमा कर्मचारी संख्या बढ्दैन ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको संस्थानहरुको समीक्षा पुस्तकअनुसार, केही वित्तीय संस्थाले नियमित लेखापरीक्षण पनि गराएका छैनन् । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०५९/६० सम्मको मात्र लेखापरीक्षण गराएको छ । त्यस्तै नागरिक लगानी कोषले आर्थिक वर्ष २०६७/६८ सम्मको लेखापरीक्षण कार्य सम्पन्न गरेको छ ।

कोषको व्यवस्था नगरी दायित्व भुक्तानी गर्ने प्रवृति पनि सरकारी वित्तीय संस्थामा कायम देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकको २६ करोड ३५ लाखबराबर कोषमा व्यवस्था नभएको दायित्व र सम्भावित दायित्व ४ अर्ब ५६ करोड ३९ लाख गरी जम्मा ४ अर्ब ८२ करोड ७४ लाख रहेको अर्थ मन्त्रालयले जनाएको छ । निक्षेप तथा कर्जा सुरक्षण निगमको पनि कोषमा व्यवस्था नभएको दायित्व ८ लाख रहेको छ ।

आर्थिक वर्ष २०६८/६९ मा वित्तीय संस्थामध्ये राष्ट्रिय वाणिज्य बैंकबाट मात्र ८ करोड ६५ लाख ७० हजार लाभांश सरकारलाई प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ । यद्यपि लगानीको अनुपातमा यस बैंकको मुनाफा अत्यन्तै न्यून रहेको छ । यो बैंकले आर्थिक वर्ष २०६८/०६९ मा खुद पुँजी लगानीमा ०.०३ प्रतिशत मात्र मुनाफा गरेको छ । यस्तै, कृषि विकास बैंकको यस्तो मुनाफा १.०८ प्रतिशतले ऋणात्मक रहेको छ ।

त्यसैगरी, राष्ट्रिय बीमा संस्थानको निर्जीवनतर्फ १२, जीवनतर्फ ७.५२, एनआईडिसी डेभलपमेन्ट बैंकको २२.७९, निक्षेप तथा कर्जा सुरक्षण निगमको १९.५०, नेपाल आवास फाइनान्सको ९.८६, नेपाल स्टक एक्सचेञ्जको १०.२६, नागरिक लगानी कोषको १.८६ र जलविद्युत लगानी तथा विकास कम्पनीको ७.६० प्रतिशत मुनाफा रहेको छ । यस्तो मुनाफा अनुपात २० प्रतिशत हुनुलाई राम्रो मानिन्छ ।
श्रोत ः अनाइन खवर डटकम

Thursday, July 11, 2013

सल्यानको शारदा नदीमा युवक बेपत्ता




सल्यान, असार २७ – सल्यानको शारदा नदीमा एक युवक वेपत्ता भएका छन् ।

नदी तर्ने क्रममा बिहीबार दिउँसो कालीमाटी रामपुर गाविस ४ का २८ वर्षिय कर्णबहादुर सुनार वेपत्ता हुनुभएको हो ।

संगै नदी तर्दै गर्दा बगेका हस्तबहादुर परियारलाई भने बगाउदै गरेको अवस्थामा उद्धार गरिएको स्थानीय गणेश परियारले बताउनुभयो ।

सुनारको खोजीका लागि इलाका प्रहरी कार्यालय कालीमाटी रामपुरबाट प्रहरीको टोली खटिएको छ । कालीमाटी रामपुर गाविसका झिगाने, सेतीखोला, सिमल कुना लगायतका गाउँका वासिन्दाहरु शारदा नदीमा पुल नहुदा बर्षायाममा जोखिम मोलेर वारपार गर्छन् ।

अहिलेसम्म ४० जना भन्दा बढी मानिस नदीमा हराइसकेका छन् ।