Tuesday, August 6, 2013

सल्यान वाफुखोलामा ५ हजार क्वीण्टल आलु गाउँमै थन्कियो



पुरुषोत्तम गिरी
सल्यान साउन २२ – बर्खामा सडक बन्द भएपछि सल्यानको बाफुखोला गाउँमा उत्पादित ५ हजार क्वीण्टल आलु किसानको घरमै थन्किएको छ ।
लगातारको वर्षाका कारण राप्ती राजमार्गको यातायात अनियमित भएपछि किसानले आलु बेच्न नपाएका हुन् । गाउँमा आलुले भाउ पाउन सकेको छैन भने घरमा भण्डारण गर्दा कुहिएर सकिने चिन्ता किसानहरुमा छ ।
स्थानीय बजारमा प्रतिकिलो १७ रुपैयाँमा आलु बिक्री गर्नुपरेको किसानहरुले बताएका छन् । बाफुखोलाको वडा नं. १, २ र ३ मा धेरै आलु उत्पादन हुन्छ ।
‘मेरो बारीमा मात्रै ९५ क्वीण्टल आलु फलेको छ’ वाफुखोला ३ का टेकबहादुर वलीले भन्नुभयो ‘मान्छेले बोकेर लैजादा बजार पुर्‍याउन २ दिन लाग्छ, ढुवानी पनि महङ्गो पर्छ ।’ यो गाउँमा एक परिवारले कम्तीमा २५ क्वीण्टल आलु उत्पादन गर्छन् भने धेरैमा १ सय ५० क्वीण्टलसम्म आलु फलाउँछन् ।
‘कतिपयले खच्चडमा बोकाएर राप्ती राजमार्गका खौला, वांगेलाकुरी, थारमारे लगायतका ठाँउसम्म बिक्री गर्न लैजान्छन्’ वाफुखोला ३ का गणबहादुर वलीले भन्नुभयो ‘तर यसरी लैजाँदा एक किलो आलुको २५ रुपैयाँसम्म पर्छ, अनि कसले किन्छ ?’
गएको वर्ष ३० जना स्थानीय ब्यापारीले ६ हजार क्वीण्टल आलु बिक्रीका लागि लगेका थिए । यो वर्ष त सडक बिग्रिएकाले आलु बिक्रीका लागि लैजान नसकेको व्यापारी खगेन्द्र केसी बताउनुभयो ।
समयमा नै आलु बिक्री गर्न नपाएका किसानलाई बिभिन्न संघ संस्थाले भण्डारणका लागि सहयोग गर्ने भएका छन् । लघु उद्यम विकास कार्यक्रम–मेडेपको सहयोगमा दलित विकास समाज सल्यानले आलु भण्डारणका लागी सहयोग गर्ने भएको हो ।
कार्यक्रम मार्फत झण्डै ४५ जनालाई आलुको गुणस्तरीयता कायम गर्नका लागी विभिन्न प्राविधिक सीप तालिम दिइने र आलु भण्डारण कक्ष निर्माण गरिनेछ । यसका लागि झण्डै ३ लाख रुपैयाँ खर्च गरिनेछ ।
यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्रालयले पनि आलुको भण्डारणका लागि एउटा भवन निर्माण गरिसकेको छ । आलुलाई कुहिनबाट जोगाएर वेमौसममा बजारमा लैजान सकिएमा यसले किसानको आर्थिक आम्दानीमा थप वृद्धि गर्ने मेडेपले जनाएको छ ।

Monday, August 5, 2013

सल्यानमा पनि गठेमंगल !

साउन २१ – केटाकेटीको लागि रहर र ठूलाबडाको संस्कृति बनेको  गठेमंगल सल्यानमा रहेका नेवार समुदायले पनि मनाएका छन् । गठेमंगल वा घण्टाकर्ण अर्थात नेवार समुदायको एउटा पर्व गथांमुगः सँग जोडिएको छ ।

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ । गथांमुगः कहिलेदेखि शुरु भयो भन्ने यकिन तथ्य नभएपनि यो पर्वसँगै नेवार समुदायमा अरु चाडपर्वको शुरुवात हुन्छ ।
बिहानैदेखि आआफ्नो टोलको दोबाटो र चौबाटोमा निगालो वा छ्वालीबाट बनाइएको तीनवटा खुट्टा भएको घण्टाकर्ण ठड्याइन्छ । र भूतको प्रतिमा बनाएर त्यसमा झुन्ड्याइन्छ । त्यसपछि कुनै ब्यक्तिलाई पेटभरी दहीचिउरा खुवाई त्यही दहीको भाँडोमा पैसा उठाउन लगाइन्छ ।
सल्यानको खलंगा वसपाकर्मा गठेमंगल मनाउदै नेवार समुदायका युवाहरू

तस्वीरः केशव सिङ श्रेष्ठ, खलंगा सल्यान
  

दिनभरी पैसा उठाउन लगाई साँझमा टोलबासी सबै मिलेर तान्त्रिक पूजा सहित त्यही ब्यक्तिलाई फेरि पेटभरी खुवाउँछन् र बलेको छ्वाली समात्न लगाई घण्टाकर्ण ढाल्ने गरिन्छ । त्यसपछि घण्टाकर्णमाथि उसलाई राखेर टोलका सबै मिली तानेर नजिकको नदीमा बिसर्जन गरिन्छ ।
यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ ।
संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।
बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो  । गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको ठाउँमा जम्मा गरिन्छ ।
कुमार षष्ठीको दिनदेखि थन्क्याएर राखिएका नेवार बाजागाजाहरु विधिवत् रुपमा पूजाआजा गरी गठेमंगलको दिनदेखि बाहिर निकालेर सिकाउने र चाडपर्वमा बजाउन शुरु गरिन्छ । नेवार समुदायमा हरेक चाडको भोलिपल्ट विवाह भैसकेका छोरी चेलीलाई बोलाएर खुवाउने चलन छ । तर यस चाडमा भने यसरी बोलाईंदैन ।

घण्टाकर्ण कसरी शुरु भयो ?

संस्कृतिविद हरिराम जोशीका अनुसार घण्टाकर्ण महादेवका छोरा भगवान स्कन्दकुमार कार्तिकेय हुन् । कुमार कार्तिकेय जन्मदा देवीदेवताहरुले धेरै उपहार प्रदान गरेका थिए । त्यसमा एउटा घण्टा पनि थियो । कानमा घण्टी लगाएको कुमार कार्तिकेयको ढुंगाको मूर्ति कुम्भेश्वरमा देख्न सकिन्छ भने अर्को मूर्ति काठमाडौंको कमलादी गणेशस्थानभित्र छ ।
पौराणिक कथा अनुसार शिवभक्त दानवराज वाणासुर र यादव सेनाबीच युद्ध भएको बेला वाणासुरका सेनालाई महादेव एवं कुमार कार्तिकेयले र यादव सेनालाई कृष्ण भगवानले साथ दिएका थिए । युद्धको क्रममा महादेवले तीनवटा टाउको र तीनवटा खुट्टा भएका शीतज्वर वा महेश्वरज्वरले यादव सेनालाई आक्रमण गरे । तर अर्कोतर्फ भगवान कृष्णले विषमज्वर उत्पन्न गरी वाणासुरका सेनालाई आक्रमण गरेपछि दानवराजको सेना युद्धमा हारे । युद्धमा हारेपछि कुमार कार्तिकेय भागे ।
शैव र वैष्णव बीचको यस शीतज्वर व विषमज्वर युद्ध ललितपुरमा देखाइने कार्तिक नाचमा अहिले पनि प्रदर्शन गर्ने चलन छ । संस्कृतिविद जोशीका अनुसार दानवराजको पक्षमा युद्ध गरेकाले घण्टाकर्णलाई पनि राक्षस भन्ने गरियो  । र गठेमंगललाई बिसर्जन गर्ने चलन पनि युद्धमा हारेर भागेको प्रतीकको रुपमा लिने गरिन्छ ।
गथांमुगः मनाउने चलन १४ औं शताब्दीदेखि शुरु भएको मानिन्छ । संस्कृतिविद हरिराम जोशीका अनुसार गोपालराज वंशावलीमा नेपाल सम्वत ५०४ को एउटा अभिलेख छ जसमा गथांमुगः पर्वको बारेमा उल्लेख गरिएको पाइन्छ । त्यस्तैगरि नेस ९७२ मा लेखिएको ‘भाषा/नेपालभाखागीत’ नामको पुस्तकमा छ्वालीबाट घण्टाकर्ण वा गथांमुगः बनाइन्छ भन्ने उल्लेख गरिएको पाइन्छ ।
त्यस्तै नेस ६९१ मा लेखिएको हितोपदेश नेस ८७२ को  ऐतिहासिक घटनावली र नेस ८१८ को भक्तपुरको दरबार स्क्वायरको अभिलेखमा पनि गठेमंगलबारे उल्लेख गरिएको जोशीले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।
यसरी विभिन्न अभिलेखहरूमा पनि उल्लेखित गथांमुग:को परम्परा घण्टाकर्ण भन्दा फरक छ। भारतको वाराणशीमा प्रचलित रुद्रायमल तन्त्रको कथाका पात्र घण्टाकर्णलाई काठमाडौं उपत्यकामा प्रचलित गथांमुग:संग जोडिएपछि घण्टाकर्ण र गथांमुग: एकै हुन् भन्ने भान परेको हो। धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ।
'रुद्रायमल तन्त्रको कथाका अनुसार एक नास्तिकले भगवानको नाम सुन्न नपरोस् भनेर कानमा घण्टा झुण्ड्याएर हिड्ने गर्थे। त्यसैले उनको नाम घण्टाकर्ण रहन गयो' श्रेष्ठ बताउनुहुन्छ। नेपालभाषामा 'गं' (घण्ट) र 'ग:' (सहर)को अर्थ फरक हुन्छ। 'ग:'लाई 'गं' बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ।
घण्टाकर्णका रूपमा बढी प्रचार भएपनि नेवारहरूको परम्परा गथांमुग: च:ह्रय् खेती किसानी गर्नेले विशेषरूपमा मनाउने भूत धपाउने दिन वा पर्व मात्रै हो र यसलाई यसरी नै बुझ्नु ठीक हुन्छ।

Sunday, August 4, 2013

सल्यानमा जनश्रमदानबाट १ दिनमा ५ लाखको काम

सामुहिक काम भए ठुलाठुला काम गर्न सहजहुन्छ –पौडेल
डिल्लीराज रावत
साउन १९, सल्यान
असार ३१ गते देखि आएको बर्षाका कारण क्षति पुगेको राप्ति लोकमार्ग अन्तरगत सल्यानको अरिङ्गाले फेदीमा खोलाले बगाएको सडक जनश्रमदानबाटै मर्मत गरिएको छ । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको नेतृत्वमा जिल्लाभित्रका क्रियाशिल विभिन्न निकाय र स्थानियबासीको सहभागितामा तारजालि र ढुङ्गा माटो भरेर ग्याभिङ्ग पुरा गर्ने काम भएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न राजनीतिकदल, पत्रकार, र स्थानियबासीको सहभागितामा ५ लाख बराबरको काम गरिएको हो । दैवि प्रकोपको जोखिमका लागि जिल्लामा कुनैपनि आर्थिक स्रोत नभएको अवस्थामा अरिङ्गाले खोलाको ग्याभिङ्ग पुरा गर्नका लागि जिल्ला विकास समितिको कार्यालयबाट ग्याभिङ्ग तार जाली उपलब्ध गराईएको थियो त्यस्तै सडक डिभिजनले डोजरहरु उपलब्ध गराएको थियो भने अन्य समूर्ण शक्तिले जनश्रमदानमा भाग लिएका थिए ।
जिल्लामा विहिबार सल्यान–रुकुम यातायात व्यावसायी संघ, सल्यान उद्योग वाणिज्य संघ, नेपाल निर्माण व्यवसायी संघ सल्यान, राप्ती अञ्चल सवारी मजदुर संघ, नेपाल पत्रकार महासंघ सल्यान र नागरिक समाज सल्यानले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र प्रस्तुत गरेको भोलिपल्ट शुक्रबार जिल्ला विकास समितको आयोजना र निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप समिति सल्यानको बैठकले सल्यानदेखि तुलसीपुर सम्मको सडकखण्डलाई सहजताका साथ सुचारु गर्ने निर्णय अनुसार अरिङ्गाले खोलाको बाटोलाई मर्मत गरिएको हो ।
तारजाली भरान कार्यमा जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सल्यान उद्योग वाणिज्य संघ, सल्यान–रुकुम यातायात व्यावसायी समिति, गैह्र सरकारी संस्थाका प्रतिनिधी र नागरिक समाजको समेत सहभागिता रहेकोे थियो । स्रोत साधनको कमि भएको भएता पनि अरु दिनमा कार्यालयको काममा व्यस्त हुने जिल्लाका कर्मचारीहरु निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख लालमणी आचार्य, निमित्त स्थानिय विकास अधिकारी तथा जिल्ला इन्जिनियर कार्यालयका इन्जिनियर हरि प्रसाद शर्मा, राष्ट्रिय अनुसन्धानका नन्द धिताल, नेपाली सेनाका क्याप्टेन नारायण विष्ट लगायतको समूहले विदाको दिन पारि जनश्रमदान गरेर डोजरको सहायतामा सवारी वारपार गराउने खोलालाई मोटरसाईकल समेत सजिलैसंग आवत जावत गर्नसक्ने सडकमा परिणत गरेका हुन् । ग्याभिङ्ग तार लगाएर फिट गरेर माथीबाट ढुङ्ग भरेकोले पक्की पुल नबन्दासमम अरिङ्गाले फेदीको समस्या समाधान भएको छ ।
सामुहिक रुपमा काम भएमा ठुला समस्याको पनि सजिलै समाधान हुने भन्दै निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलले निर्माण कार्यमा सहयोग पु¥याउने सबैमा धन्यवाद व्यक्त गर्नुभएको छ । जिल्लाका समस्याहरु हामी सबै मिलेर गरेमा समाधान हुने भएकाले आगामी दिनमा यस्ता कामले राष्ट्रलाई समेत टेवा पु¥याउने छ उहाँले बताउनुभयो ।
त्यस्तै राप्ती लोकमार्गको विभिन्न ठाँउमा पहिरो गएको तथा विभिन्न ठाँउमा सडक भास्सिएकोले त्यसको मर्मतका लागि डोजरले काम गर्नेक्रम जारी रहेको छ ।
ं शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला दैवि प्रकोप समितिको बैठकमा सल्यान जिल्लामा क्षतिको विवरण आउनेक्रम जारी रहेको र अहिलेसम्म ६ करोड बराबरको अनुमानित क्षति विवरण आएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । त्यस्तै कपुरकोटक्षेत्र पहिरोको जोखिममा परिरहेको भन्दै त्यसकालागी राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने र त्यो कार्य भैरहेको पौडेलले जानकारी दिनुभयो । यसपल्टको प्रकोपले सल्यानका विभिन्न ठाँउका विद्यालय, सडक, खेतियोग्य जमिनमा क्षति पु¥याएको भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत साउन ७ गते शहरी विकास मन्त्रालय विपद व्यवस्थापन शाखा सिंहदरवार काठमान्डौंमा पठाईसकिएको क्षतिको विवरण सहि भएकोले बैठकले अनुमोदन समेत गरेको छ । बैठकले सल्यानको शारदाखोला, लुहामखोला, मर्मखोला, दार्मखोला, बन्गाडखोला लगायतका ठाँउमा नदिले कटान गरेको क्षेत्रमा तारजाली तथा राहतको सिफारिस भए अनुसार सहयोग गर्ने जनाएको छ ।
जिल्ला सरोकारवालाको पहल तथा स्थानिय सहभागितामा अरिङ्गालेखोलाको सडक त भएको छ जिल्लाभित्रका अन्य ठाँउमा सरकार र विभिन्न निकायको मुख ताक्नुभन्दा आ–आफ्नो क्षेत्रमा काम गर्न सके दैवि प्रकोपबाट हुने समस्याबाट बच्न सकिन्छ ।