Sunday, November 15, 2015

अमेरिकाले रिहा गरेका बगदादी यसरी बने आइएसका नेता

विश्लेषण: के हो आइएस ? कसले जन्मायो ?


IA-Arms
२८ कात्तिक, काठमाडौं । यतिबेला अमेरिकासहित विश्वका ७० वटा देशहरु कुनै न कुनै रुपमा इस्लामिक स्टेट (आइएस) विरुद्ध लडिरहेका छन् । विश्वलाई हाराबारा खेलाउने पेरिस आक्रमणको जिम्मेवार आइएसका प्रमुख नेता तिनै व्यक्ति हुन्, जसलाई अमेरिकाले केही वर्ष पहिले हिरासतमा लिएर पनि सामान्य मान्छे सम्झेर रिहा गरिदिएको थियो ।
अमेरिकास्थित ‘इन्सिटच्युसन फर दी स्टडी अफ वार’ (आइएसडब्ल्यु) का तर्फबाट हर्लिन ग्याम्भिरले गत जुलाइमा ‘आइएसआइको विश्व रणनीति: एक युद्धखेल’ नामक प्रतिवेदन तयार पारिन् । हर्लिनको सो प्रतिवेदन आइएसडब्ल्युको ‘मध्यपूर्वी सुरक्षा रिपोर्ट-२८’ मा प्रकाशित छ । हर्लिन अमेरिकी आतंकवाद प्रतिरक्षा विज्ञ हुन्, जसले संसारभरि भइरहेको आइएसको गतिविधिबारे अध्ययन-अनुसन्धान गरिरहेकी छिन् ।
आफ्नो अनुसन्धान प्रतिवेदनमा हर्लिनले आइएसको प्रभाव विश्वव्यापीरुपमा भइरहेकाले अमेरिकाले उसविरुद्धको लडाइँको रुप बदल्नुपर्ने सुझाव दिएकी थिइन् ।
सिरिया र इराकमा अमेरिकाको ध्यान तानेर आइएसले विश्वका अन्य देशमा प्रभाव बढाइरहेको उनको विश्लेषण थियो । हर्लिनले यस्तो निश्कर्ष निकालेको चार महिना नबित्दै आइएसले पेरिसमा आक्रमण गरेको छ । सिरिया र इराकमा भइरहेको आइएसविरुद्धको कारवाहीको जवाफमा उसले फ्रान्सलाई तारो बनाएको अनुमान गरिएको छ ।
एक जमानामा विन लादेनको अलकायदा जसरी अमेरिकाको निशानामा थियो, अहिले त्यसको ठाउँमा त्योभन्दा भयंकर स्वरुप धारण गरेर आइएस जन्मिएको छ । सन् २०१४ बाटमात्रै मूलतः विस्तारित बनेको आइएसले दुई वर्षयता नै विश्वका ७० देशको ध्यान तानिसकेको छ ।
फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक चासो बढेको छ ।
बिन लादेन गए, बगदादी आए
Abu-bakr-al-baghdadiएक समय अलकायदाका नेता ओसामा बिन लादेनको नाममा धेरैको चासो थियो । टि्वन टावर ध्वस्त बनाउने लादेनको इहलीला अमेरिकाले समाप्त पारिसकेको छ । अफगानिस्तानमा रहेको तालिवानी शासन पनि ढलिसकेको छ । (यद्यपि त्यहाँ तालिवानीको गतिविधि यथावत छ ।) तथापि अहिले विश्वको रंगमञ्चमा ओसामा बिन लादेन वा अफानिस्तानको तालिवान भन्दा पनि भयंकर त्रासदी बोकेर आएको छ, अबु बकर-अल बगदादीले नेतृत्व गरेको इस्लामिक स्टेट (आइएस) ।
आइएसका समर्थकले आफ्ना नेता बगदादीलाई खलिफा इब्राहिमका नामले चिन्ने गर्छन् । इस्लामिक स्टेटको प्रमुख नेता बनेको चार वर्ष बित्दा पनि उनको वास्तविक अनुहार सार्वजनिक हुन सकेको छैन । सन् २०११ सम्म उनका लिखित भाषणहरु सार्वजनिक हुने गरेकोमा २०१३ मा उनको अडियो सन्देश सार्वजनिक भएको थियो । आइएसका समर्थकहरुले बगदादीलाई पैगम्बर महम्मदका बंशज मान्छन् ।
आइएसका मुख्य नेता बगदादीले इराकको बगदादस्थित इस्लामिक विश्वविद्यालयबाट इस्लामी संस्कृति, इतिहास, सरिया र न्यायशास्त्रमा पीएचडी गरेका छन् । उनी सुरुमा मस्जिदमा धार्मिक शिक्षा दिन्थे । उनले ओसामा बिन लादेनले भन्दा बढी शिक्षा आर्जन गरेको हुनाले आइएसका समर्थकहरु उनलाई लादेनलाई भन्दा बढ्ता मान्छन् ।
जब अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्‍यो, त्यसपछि बकर अल-बगदादीले आफ्ना केही सहयोगीहरुलाई लिएर जैस अहल अल सुन्नाह वा-अल जमात (जेजेएएसजे) गठन गरे । उनको समूह त्यसबेला बगदादमा सक्रिय थियो ।
त्यसो त अमेरिकी सेनाले बगदादीलाई २००४ को फेबु्रअरीदेखि डिसेम्बरसम्म हिरासतमा समेत लिएको थियो । तर, उनलाई छाडिदियो । किनभने अमेरिकाले उसलाई यतिसाह्रो खतरनाक व्यक्ति होलान् भन्ने सोच्दै सोचेन ।
यिनै बगदादीले सन् २००६ को प्रारम्भमा जेजेएसजेको नाम परिवर्तन गरेर मजलिस शुरा अल-मुजाहिद्दीन राखे । त्यसपछि उनको संगठनले अलकायदासँग बफादार रहने कसम खायो र अलकायदामा मिसियो । त्यसपछि फेरि यो संगठनको नाम परिवर्तन भयो र आइएसआइएस राखियो, जसको सर्वोच्च सल्लाहकार परिषदमा बगदादी चुनिए । यो गुटका प्रमुख नेता अबु अमर अल-बगदादीको अपि्रल २०१० मा मृत्यु भयो । त्यसपछि अबु बकर अल-बगदादी यसको प्रमुख नेता बने, जसले अहिले सिरिया र इराकको भूभागमा आफ्नो प्रभुत्व जमाइरहेका छन् र विश्व समुदायलाई आतंकित पारिरहेका छन् ।
बगदादी कहाँ बस्छन् भन्ने अस्पष्ट छ । अनुमान गरिएको छ कि उनी सिरिया र इराकमा घुमिरहन्छन् । सुरक्षाको दृष्टिले उनी कहाँ बस्छन् भन्ने खुलाइँदैन ।
के हो आइएस ?
सन् २०१४ देखि इराक र सिरिया हुँदै विश्वका विभिन्न देशमा गतिविधि बढाएको आइएसआइएसको पूरा नाम स्लामिक स्टेट इन इराक एण्ड अल शाम (सिरिया) हो, जसलाई छोटकरीमा आइएस वा आइएसआई भनिन्छ ।
यो चरमपन्थी संगठनले इराक र सिरियामा आफ्नो कब्जामा लिएको भूभागलाई ‘खिलाफत’ (इस्लामिक राज्य) घोषणा गरेको छ । यसका खलिफा (मुखिया) बगदादी हुन् । चरमपन्थीहरुले घोषणा गरेका छन् कि आइएसआइएसलाई अब आइएस वा ‘इस्लामिक स्टेट’मात्रै भनिनेछ ।
आइएसको उद्देश्य मुसलमानहरुको अलग्गै इलामिक राज्य घोषणा गर्नु हो । उनीहरुले पश्चिमा लोकतन्त्रलाई खारेजीको घोषणा गर्दै अरबलाई पश्चिमी प्रभावबाट मुक्त गर्ने दाबी गर्दै हिंसात्मक लडाइँ छेडेका छन् । यसका लागि संयुक्त राष्ट्र संघले बनाएको सीमारेखा नमान्ने उनीहरुले घोषणा गरेका छन् । इराक र सिरियामा यसैको प्रयोग गर्दै आइएसले दुई देशको भूभागलाई एकै ठाउँमा मिलाएर इस्लामिक राज्यको घोषणा गरेको छ ।
इराकको राजधानी बगदादपछिको ठूलो शहर मसूल यतिबेला आइएसको नियन्त्रणमा छ । उसले निकट भविश्यमै सिंगो इराकलाई आफ्नो कब्जामा लिने दाबी गरेको छ ।
इस्लामिक स्टेटको गतिविधि यतिबेला ५० भन्दा बढी देशमा फैलिएको छ । आइएसविरुद्धको कारवाहीमा कुनै न कुनै रुपले ७० देश सहभागी छन् । आइएसविरुद्ध विश्वका धेरै देशहरुले सैन्य एवं गैरसैन्य सहभागिता जनाएर लडिरहेका छन् ।
आइएसविरोधी लडाइँमा सैनिक सहभागिता जनाउने देशमा अमेरिका छ भने सैन्य सामाग्रीमार्फत सहभागी देशहरुमा डेनमार्क, जर्मनी, बेलायत, फ्रान्स, पोल्याण्ड, अल्बानिया, अष्ट्रेलिया, इटलीलगायत छन् । क्यानडाले सैनिक सल्लाहकार उपलब्ध गराएको छ ।
IS Effect
मानवीय सहायतामार्फत् आइएसविरुद्ध अभियानलाई सहयोग गर्ने देशहरुमा नर्वे, फिनल्याण्ड, स्वीट्जरल्याण्ड, टर्की, स्पेन, जापान, दक्षिण कोरिया, न्युजिल्याण्ड, हंगेरीलगायतका देशहरु छन् । सिरिया र इराकका सरकारहरु आइएससँग प्रत्यक्ष लडाइँ लडिरहेका छन् ।
एशियाका चीन र भारत आइएसको विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतले आएइएसको धम्कीको सामना गर्न थालेका छन् । हालै बेलायतबाट प्रकाशत एक रिपोर्टमा आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ ।
अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।
आइएसको नेतृत्व
आइएसको नेतृत्वमा खासगरी दुई प्रकारका मानिसहरु छन् । पहिलो, मुजाहिद्दीन, जसले २००३ मा इराकमा अमेरिकासँग लडेका थिए । मुजाहिद्दीनले अफगानिस्तानको पर्वतीय क्षेत्रमा आफ्नो प्रारम्भिक तालिम लिएका थिए । इराकमा सद्दाम हुसैनले अमेरिकासँग भूमिगत लडाइँ लड्दा हजारौं टन हतियार मुजाहिद्दीनले संग्रह गरेका थिए ।
उनीहरुले इराकको तेलखानी रहेका क्षेत्रहरुलाई आफ्नो आयस्रोत बनाउने उद्देश्यले कब्जामा लिने रणनीति बनाएका छन् । उनीहरु इराकलाई अमेरिकी नियन्त्रणबाट आफ्नो कब्जामा पार्न चाहन्छन् । उनीहरुको इराक कब्जाको रणनीति अहिले इस्लामिक स्टेटमा परिणत भएको छ र आफ्नो नियन्त्रणमा रहेको सुन्नी प्रभावित मोसूल लगायतको क्षेत्रमा इस्लामिक राज्य घोषणा गरिएको छ ।
Is Leaders
दोस्रो, आइएसको नेतृत्वमा ती व्यक्तिहरु छन्, जो सद्दामका पालामा बाथ पार्टीमा थिए । सद्दामका सैन्य अधिकारीहरु ठूला हतियार चलाउने र युद्धकला जानेका मासिसहरु हुन्, जो यतिबेला आइएसमा छन् ।
एघार वर्ष लामो संघर्ष (खास गरी २००८-२०११ को अवधिमा) इस्लामिक स्टेट इराकले सद्दामका पालाका धेरैजना आर्मी अफिसर्सहरुलाई आफ्नो प्रभावमा ल्यायो । २०१० देखि उसले इराकमा गुरिल्ला युद्धको विकास गर्‍यो । २०१३ मा नियमित सेनाको विकास गर्‍यो । त्यसपछि इराक र सिरियाको एकीकृत आइएसआइएस बन्यो ।
इराक र सिरियावीचको सीमारेखा भत्काएको उनीहरुले घोषणा गरे । इराकका बगदादी आइएसको प्रमुख बने भने सिरियामा लडिरहेका अबु मुस्लिम अल-तुर्कमानी डेपुटी नेता बने । तुर्कमानी सद्दाम हुसैनको पालाका इराकी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल एवं विशेष फोर्सका कमाण्डर हुन् । साथै सिरियामा आइएसको नेतृत्व गरिरहेका डेपुटी कमाण्डर अल-अनबरीसमेत इराकी सेनाका पूर्वसैन्य अधिकारी हुन् ।
आइएसको केन्द्रीय अंगमा ७ जनाको क्याबिनेट छ । ६ सदस्यीय गर्भनर बडी छ भने तीनजना युद्ध कमाण्डर छन् । सरकार सञ्चालन, सेना र मिडियाको छुट्टै विभाग छ ।
केही रहस्यहरु
रिपोर्टहरुमा बताइए अनुसार आइएसका लडाकूहरु पत्रकारलाई राम्रो दृष्टिले हेर्दैनन् । पत्रकारले लडाकूको प्रभाव क्षेत्रमा घुम्ने र नकारात्मक रिपोर्ट लेख्ने अनि सुराकी गर्ने उनीहरुको बुझाइ छ । तर, पछिल्ला दिनहरुमा गोरो वर्णका पत्रकारहरुले क्रमशः आइएस प्रभावित क्षेत्रमा पहुँच पाउन थालेका छन् । केहीले आइएसका बारेमा सन्तुलित सूचना प्रवाह गरेको उनीहरुमा बुझाइ देखिन थालेको छ ।
आइएसको छुट्टै आधिकारिक बेवसाइट छैन । उनीहरु बढीजसो टि्वटर प्रयोग गर्छन् । केही समय पहिले आइएसको आइटी ग्रुपले पेन्टागनको वेबसाइटसमेत ह्याक गरिदिएको थियो । एके-४७ राइफल र अत्याधुनिक हतियार चलाउने आइएसका लडाकूहरु आइटीमा समेत अमेरिकाका लागि चुनौती बन्ने गरेका छन् ।
इराकको मोसुल शहर आइएसको राजधानी नै हो भन्दा पनि हुन्छ । त्यहाँको अस्पतालमा घाइते लडाकूहरुको उपचार हुन्छ । अन्य सर्वसाधारणको निशुल्क उपचार एवं अप्रेसन गरिन्छ । आइएसको कब्जामा रहेको भू-भागमा खाना पकाउने ग्यासबाहेक अस्पताल, शिक्षा र सार्वजनिक यातायातसमेत निशुल्क छ ।
IS Mosul
आइएसलेले आफ्नो ‘स्टेट’ मा गरीबलाई घर बनाउने रकमसमेत वितरण गर्ने गरेको विभिन्न रिपोर्टमा देखिन्छ । अमेरिकासँगको लडाइँमा ध्वस्त भएका मानिसका घरसमेत उनीहरुले मर्मत गर्ने गरेका छन् ।
आफ्नो कब्जामा रहेका तेलखानीहरुबाट प्राप्त रकम नै आइएसको आम्दानीको मूल स्रोत हो । यसबाट उनीहरुले प्रशस्त आम्दानी गर्ने गरेका छन् । त्यही तेलको पैसाले उनीहरु युद्ध लडिरहेका छन् । इराकका थप तेलखानी कब्जामा लिने उनीहरुको योजना छ । इराक त्यस्तो देश हो, जसले दैनिक बरिक १० लाख डलरको तेल बिक्री गर्छ ।
त्यसो त ‘आइएस’ एक प्रकारको ‘रुमानी’ जत्थाका रुपमा विकसित हुन थालेको छ । बेलायतबाट कतिपय युवकहरु र युवतीसमेत आइएसमा लाग्न थालेपछि युरोपियनहरुमा थप चिन्ता बढेको छ । आइएस विरुद्धका केही कारवाहीमा बेलायती नागरिक मारिनुले यसको पुष्टि गरेको छ ।
महिलाहरुप्रति तालिबानीजस्तो अनुदार छैन आइएस । मोसुलको सहरमा महिलाहरुले विज्ञान पढिरहेको दृश्यले आइएस तालिवानभन्दा उदार हो कि जस्तो देखिन्छ ।
तर, आफ्ना विरोधीहरुमाथि गरिने नृशंस हत्यामा आइएस तालिवान वा अलकायदा भन्दा फरक देखिँदैन । मानिसलाई जिउँदै गाड्नु वा तड्पाई-तड्पाई हत्या गर्नु उनीहरुका लागि सामान्यजस्तै हो । पश्चिमा मिडियाहरुलाई पत्याउने हो भने उनीहरुले कैयौं शरणार्थी महिलाहरुमाथि यौन दुव्र्यवहारसमेत गर्ने गरेका छन् ।
आइएस लडाकूहरुले प्रायः एके-४७ राइफल प्रयोग गर्छन् । साथै उनीहरु अत्याधुनिक एवं गह्रौं हतियारसमेत चलाउन पोख्त छन् । विशेष गरी छापामार एवं स्थल युद्धमा उनीहरु तगडा छन् । उनीहरु कालो लुगा लगाएर हिँड्छन् । अनुहार कालै कपडाले छोपिएको हुन्छ । झण्डा पनि कालै हुन्छ । कालो रंग आइएसको निशानी हो । लडाकूहरुले बिहानै उठेर अनिवार्यरुपमा इस्लाम धर्मअनुसार गरिने कर्मबाट आफ्नो दैनिकी सुरु गर्छन् ।
टर्कीलगायत सिरिया एवं इराकको सीमा क्षेत्रदेखि प्यालेष्टाइन अनि अपि|mकाको नाइजेरियासम्म उनीहरुको गतिविधि छ । नाइजेरियाको बोको हरामलाई यसैको रुप मानिन्छ । युरोपमा आइएसको उपस्थिति पेरिसमा भएको हमलाले नै प्रष्ट पारेको छ ।
कसले जन्मायो ? कहाँ पुगेर टुंगिएला ?
यतिबेला अमेरिकाको मुख्य दुस्मन बनेको छ आइएस । इराक, अफगानिस्तान र सिरियामा अमेरिकी नेतृत्वको पश्चिमा फौजले आइएसको सामना गरिरहेको छ । सिरियामा आइएस विरुद्धको कारवाहीमा रसिया पनि धुरा पसिसकेको छ ।
Paris9
तर, वर्ष दिनदेखि मेहनत गर्दा पनि इराकमा अमेरिकाले आइएसको कब्जाबाट मोसुललगायतका सहरलाई आफ्नो नियन्त्रणमा लिन सकेको छैन । शुक्रबार अमेरिकी सेनाको सहयोगमा सिंजर शहर कुर्दिस लडाकूले आइएसको हातबाट फुत्काएको बताइएको छ । तर, यसरी खोसाखोस गर्ने क्रम इराकमा चलिरहेकै छ ।
आखिर किन र कसरी जन्मियो आइएस ? र, यसको समाधान के हुन सक्छ ? यसबारे समय क्रममा विश्लेषण हुँदै जाला । तर, इराकमा सद्दामको शासनमाथि अमेरिकी आक्रमणबाट सुरु भएको यो दुःख समाधानविहीन संकट जसरी फैलिइरहेको छ । मुस्लिम समुदायलाई देख्नासाथ आतंकवादी ठान्ने पश्चिमी दृष्टिकोण आइएस जन्माउनमा कति जिम्मेवार होला ?
र, अरब राष्ट्रमा देखिएको संकटलाई टार्न राजनीतिक नभई फौजी समाधानमात्रै खोज्ने प्रयत्न गर्दा विश्व समुदायले अझै कति दुःख पाउनुपर्ने हो, यसतर्फ पनि बहस जरुरी देखिएको छ ।
आखिर के दबाइ छ अरबमा शान्ति स्थापनाको ? यस सम्बन्धमा बहस हुनुपर्ने दुईवटा गम्भीर प्रश्न छन्:
पहिलो – अब अरब समस्याको सैन्य समाधान सम्भव छ कि छैन ? यदि सम्भव छ भने इराकमा सद्दामको सत्ता ढालेको १२ वर्षसम्म किन शान्ति कायम हुन सकेन र त्यहीँबाट आइएस जन्मियो ? अनि अहिले सिरियामा किन राष्ट्रसंघमार्फत् विपक्षीसँग वार्ताद्वारा संवैधानिक निकास खोज्ने प्रयत्न गरिँदैछ ?
दोस्रो प्रश्न– लोकतान्त्रिक भनिएका शक्ति राष्ट्रहरुले यसरी दशकौंसम्म कतिञ्जेल युद्ध गरिरहने ? र, पेरिसमा जस्तै निर्दोष मानिसले कहिलेसम्म मृत्युको शिकार भइरहने ? अनि लाखौं सिरियालीले जसरी कतिञ्जेल निर्दोष मानिसहरुले शरणार्थीको नारकीय जीवन भोगिरहने ?
अन्त्यमा, यो पनि स्मरणीय छ कि विश्वमा कम्युनिष्टहरुको पतनसँगै पश्चिमा पुँजीवाद-साम्राज्यवादले वर्गसंघर्षलाई जातीय संघर्षमा रुपान्तरण गर्ने प्रयास गरेकै हो । कुर्दहरुलाई त्यही स्वार्थमा हतियार बाँडियो ।
सीमान्तीकृत जातिलाई स्यामुअल पी हन्टिङटनको पुस्तक बाइबलजसरी पढाइयो । अन्ततः अरबी सांस्कृतिक पहिचान भर्सेज पश्चिमी लोकतन्त्रवीचको युद्ध देखापर्‍यो । त्यसर्थ यो पनि प्रश्न उठ्न सक्छ कि आइएसको मानसपुत्र कतै पश्चिमी पुँजीवाद नै त होइन ? जसले अरबको तेलका लागि त्यहाँ हस्तक्षेपकारी नीति अवलम्बन गर्‍यो ।

Wednesday, November 11, 2015

जागिर

काम गरेको वर्ष दिनपछि पत्रिकाका मालिकले एकदिन भने - 'तिमीले पत्रकारिता गरेर खाँदैनौ !'
साक्खै छोराको चिन्ता गरेझैं जुँगे ओठ खुम्च्याउँदै उनले तीतो पोखे । त्यो जुँगाले मलाई सिस्नुले घोचे जस्तै रनक्क पार्‍यो । ढंग पुर्‍याएर लेख्न नजानेको भन्दै उनले मेरो जीवनयात्राबारे भविष्यवाणी नै गरिदिए ।
एक दशकअघि पत्रकारितामा जागिरे यात्रा सुरु गरेको थिएँ । काम थियो- आर्थिक पत्रिकामा फिचर समाचार र बजारभाउबारे लेख्नु । आफ्नै बजारभाउ भने दयनीय थियो । तलब थियो - ४५ सय रुपैयाँ । तैपनि तलब हात लाग्ने सम्भावित गतेहरूमाकुवेरको थैलो पाउन लागे जस्तै मन एकतमासले रसाउँथ्यो । तलब पाउनेबारे पत्रिकाको लेखा शाखामा फोनबाट सोधेर हातैमा नगद बुझ्नुपर्ने रीत थियो । लेखामा फोन गर्दै 'आज त्यहाँ आउँदा हुने हो हजुर?' भनेर सोध्दा सकारात्मक जवाफ आएमा खुसीले औडाहा हुन्थ्यो !
ती दिनहरूमा म कसैगरी पनि एउटा जागिरमा झुन्डिनैपर्ने दबाबमा थिएँ । खासगरी यसले केही गर्ने भएन भनेर कचकच गरिरहने बा को मुखमा बूजो लगाउन । 'फलाना र ढिस्कानाका छोराहरूले आफ्नै बलबुताले काठमाडौंमा जागिर खाएर कहाँ-कहाँ पुगिसके', बा गलाको नसा फुलाउनुहुन्थ्यो । हामी दिमागमा प्रेसर फुलाउँथ्यौं । त्यही भएर पूर्वी नेपालबाट राजधानी हान्निएर क्याम्पस शिक्षाबाट उकालो चढ्दै गर्दा जागिरमा अल्झिनुपर्ने ध्याउन्न थियो ।
पत्रिकाका सम्पादक/प्रकाशक एकै व्यक्ति थिए । खल्तीमा जागिर बोकेर हिंड्ने हैसियत राख्ने । उनीहरूका लागि तल्ला तहका कर्मचारी त झन् खल्तीका कलमजस्तै हुने भइगए । मन लागेको बेला बाटोबाटै टिपेर भिरिहाल्छन्, नलागेको बेला फुत्त निकाल्छन् । सिस्टम, तौरतरिका ओठ र आँखामा अँडेको हुन्छ । बोल्यो कि नियम, हेर्‍यो कि आदेश !
मैले पनि एक भेटबाटै जागिर पाएको थिएँ । बिस्तारै तलब बढाउने गुलियो आश्वासन पनि मिलेकै थियो । बढी तलबको मिश्री पाउने-नपाउने ठेगान नभए पनि म कमिला भएर काममा जुटेको थिएँ । कामको लहरा अफिसदेखि झ्याङ्गिँदै गएर मेरो डेरासम्म पुग्थ्यो । अफिसमा नसकिएको काम कोठामा लगेर गर्थेँ । अन्तर्वार्ता अडियोबाट सुन्दैकागजमा उतार्दा मध्यरात कट्थ्यो । कुनै कुराकानीलाई लेखको स्वरूपमा ढाल्नुपर्ने,कुनैलाई अन्तर्वार्ताकै रूपमा उतार्नुपर्ने ।
अन्तर्वार्ता लिने र रेकर्ड गर्ने मान्छे अर्कै हुन्थ्यो । त्यसलाई लिखित रूपमा उतार्न म फेला पर्थेँ । अरुले लिएको अन्तर्वार्तामा कुनै बेला प्रश्न त कुनै बेला जवाफ राम्ररी नुसुनिए/नबुझिएपछि कनेर दोहोर्‍र्‍याई-तेहेर्‍र्‍याई सुन्दासुन्दै दिमाग तनावले लोथ हुन्थ्यो । हरेक हप्ताको यो सिलसिलाले टाउकोको मगज भुत्ते खुकुरी राख्ने म्यानमा परिणत भइरहेको अनुभूति हुँदै थियो । कहिलेकाहीं लाग्थ्यो, जिन्दगी भन्नु जागिर त रैछ । जिन्दगी चलाउन जागिर खाइन्छ कि जागिर खान जिन्दगी चलाइन्छ, एकरत्ति भेद नभए जस्तो । र पनि जिन्दगीको पाठशालामा संघर्षलाई साथी नबनाए फेल खाइन्छ भनेर डुङ्गा खियाउँदै बढिरहेथेँ ।
आदर्शमा ओठ तौलनेहरूले भन्छन्, 'आफ्नो रुचिअनुसारको पेसा अपनायो भने त्यो बोझ हैन, रमाइलो कर्म बन्छ ।' तर, अनेक उल्झनमा र नानाभाँतीका मान्छेहरूको माझमा काम गर्दा रुचिको पेसाले कुनै पनि बेला स्वाद गुमाउन सक्छ । त्यतिबेला आदर्शको कुरा भद्दा व्यावहारिक पाटो बनिदिन्छ । कर्मचारीहरूबीचमै अलिक सिनियरले जुनियरसामु मैं हुँ मालिक झैं गरी देखाउने धमासले युवा उत्साह धूलिसात् हुनु स्वाभाविकै हो ।
तर, मालिक त मालिक नै हो । कुनै कुरामा चित्त नबुझे पनि ऊ सामु प्रतिवादमा केही बोल्न हत्तपत्त शब्द फुट्दैन । 'पत्रकारिता गरेर खाँदैनौ' भनेर ओठ लेप्य्राउने मालिकसामु म पनि त्यो दिन नाजवाफ थिएँ । सायद मेरा ओठ-तालु नै सुकेका थिए । तर, मनले चाहिं एकोहोरो भनिरहेथ्यो - पर्ख ! म गरेर, खाएर देखाउँछु ।
सामुन्नेको मानिसको मौनतामा हरेक घमण्ड थप भुक्दै जान्छ । पत्रकारितामा मेरो अशुभ भविष्यवाणी गरिदिएका मालिक पनि मेरो थप चिना-टिपन केलाउँदै थिए । जीवन गुजाराको कुरा पैसामा जोडियो ।
'पैसा कमाउन त तरकारी बेच्नुपर्छ भैया । बढी पैसा त्यसमा छ ।' उनले यो अर्ती पनि बोनसस्वरूप दिए ।
मेरो इमान र परिश्रमको पसलमा तत्कालै लहलह काउली र साग टुसाएर फले । तर,ती काउली र सागमा स्याउँस्याउँती कीरा परेका थिए ।
हामीकहाँ हरेक पुरानो पुस्ताबाट नयाँ पुस्ताले प्रेरणा, ऊर्जा र हौसलाको अपेक्षा राख्दैन । जसरी कि, नयाँ पुस्ताबाट पुरानाले सामान्यतया सम्मान र इज्जतको आशा राख्दैन । त्यस्तो प्राप्तिको ठाउँ नै रहन्न । सायद नयाँ पुस्तालाई हौसला र स्नेह नदिने अहम्को भूत सवार भएकोले पुरानालाई सम्मान नसुहाएको होला । अथवा, यथेष्ट सम्मान भाग नलगाएकोले पुरानाहरूले नयाँमा ऊर्जा सञ्चार नगरेका होलान् ! यसबारे यही नै हो भनेर नापनक्सा केलाउन मुश्किल छ । गुदी भरेर यो खाडल पुर्न कसले सुरु गर्नुपर्ला ? सायद समानान्तर र परिपूरक व्यवहार नै दुवै पुस्तालाई फाइदा गराउने पुल हो । तर, यथार्थमा एउटालाई अर्को पुस्ता वृद्ध र बेकामे ट्याक्टर लाग्छ, जसले गतिको तुलनामा बढी हल्ला मात्र गर्छ । अर्कोतिर, अनुभवले पाकेको आँखासामु भर्खरको पुस्ता हिजोको चल्ला देखिन्छ, जसको कुनै कुरामा पनि ढंग र अदब छँदै छैन !
नेपालका धेरै पत्रकारमा ग्यास्टि्रक रोगको सानोतिनो घर छ । न खाना-खाजाको ठेगान, न त सुत्ने समयको पालना । दुवै आँखाको छेउमा पर्दा लगाएर सीधा बुर्कुसी मारिरहेको रेसको घोडा जस्तो दैनिकी । खल्तीमा परेको प्वालबाट घरको सामानकोलिस्ट हराएर देशको अर्थतन्त्रबारे बहस छेडिरहेको बबुरो बुद्धिजीवी ।
जागिरमा लागेको सुरुवाती दिनहरूमा मेरो हालत त झन् खल्तीमा प्वाल परेको हैन,बिना खल्तीकै कमिजको जस्तो थियो । अफिसबाट खाजा खान साथीहरू निस्किनलाग्दा सकेसम्म टार्ने गर्थेँ । तर, पैसा नभएको बेला त झन् भोककै यादमा पेट देवदास भएर हायलकायल पार्थ्यो ! अलिक पछिको समयमा तारेको तोफु (भटमासको दूधबाट बनाइएको परिकार) मा बढीभन्दा बढी मन लगाइयो । किनकि त्यो सस्तोमा पाइन्थ्यो । मीठो पनि लाग्थ्यो । सस्तो भएकोले पनि त्यसमा थप मिठास थपिएको हुँदो हो ।
फिचर रिपोर्टका लागि राजधानी सहरको एक कुनादेखि अर्को कुनासम्म पैदल दगुर्थेँ । कुकुरका सौखिनहरूका लागि केनल क्लबको सेवादेखि जुत्ता र क्यामेराको बजारमा डिजाइन र ब्रान्डको घनचक्करसम्ममा दिमाग पौडी खेल्थ्यो । मान्छेहरू जुत्ताको समाचार लेखेर बकस स्वरूप जुत्ता नै पाएर उन्थे । पुरानो जुत्ताले नै साथ दिइरहनु मेरो लागि भाग्य थियो । परिश्रमको कमाइले सुक्खा तोफु टोक्दा पेट राम्ररी नरमाए पनि मन भने मजासित भरिन्थ्यो ।
तिनताक प्रेममा थिएँ म । कहिले साप्ताहिक बिदाको दिन आउला र मायालुसँग एक झप्को भेटमा हप्ताभरिको थकान बिर्सिन पाउँला भनेर व्यग्र पर्खाइमा बस्थेँ । हरेक सोमबारे छुट्टीमा स्वतन्त्रता दिवस र प्रेम दिवस एकै दिन पथ्र्यो । एक घन्टाको बाटो धाएर जाँदा देउतै भेटेजस्तो तृप्ति मिल्ने !
तीन-चार हजारको जागिर खाँदा पनि उसको मोबाइल फोनमा पैसा हाल्दिन खै कताबाट जङ चल्थ्यो । उसले छिटफुट लेख्ने लेख/कविताको म अघोषित सम्पादक नै थिएँ । शीर्षकदेखि विषयवस्तु र बुनाइमा तेल-पालिस घस्न पाउँदा आफ्नै सिर्जनामा लीन भइरहे झैं खुसी मिल्थ्यो । कवितामा ऊ भावना लेख्थी, लेखहरूमा महिला सशक्तिकरण र आत्मनिर्भरताबारे वैचारिक पाटो केलाउँथी । जे लेख्थी, मन छुन्थी । उसले कोरेका अक्षरमा म आफ्नै आवाज चिर्बिराएको पाउथेँ ।
प्रेमीको साइनोसँगै जीवनमा उसले मलाई सम्पादकको रूपमा नियुक्त गरेकी थिई, मैले भने मनमनै उसलाई सिन्दूर हालिसकेको थिएँ । एउटै काठमाडौं खाल्डोभित्र म नक्सालमा बस्थें, ऊ बस्थी सानेपा । एउटै घरको दुई बार्दलीको बीचमा पुल नभए जस्तो मात्र थियो । एक्लोपनले खाइरहेको मेरो जीवनमा उसले परिवारको ठाउँ लिंदै थिई । ऊ पनि कम गम्भीर थिइन ।
भन्थी - 'तिमी पैसा यस्सै के-के मा खर्च गरेर सक्छौ । मलाई देऊ । म राख्दिन्छु बैंकमा । पछिका लागि साँच्नुपर्छ ।'
उसको यस्तो सपना र योजनाको चुल्ठोमा पिङ खेल्दै म परसम्म बत्तिन्थेँ र हुरुक्क हुन्थेँ । बचत गर्न पुग्ने पैसा हुने त्यस्तो जागिर नै कहाँ थियो र आफ्नो ! तर, उसको सपनामा युगल पखेटा थपिदिन तोफु खाने ३०-४० रुपैयाँ पनि जोगाएर राखूँ जस्तो हुन्थ्यो ।
पर मोडमा आउँदै गर्दा अदृश्य औंलाहरूले मुटुमा काउकुती लाउने सामर्थ्य राख्थी ऊ । उसले मुटुमा लगाइदिएको काउकुती सर्दैसर्दै अनुहारमा मुस्कान भएर भरिन्थ्यो । तर,मेरो त्यस्तो मुस्कानलाई जागिरले टोक्दै गइरहेको थियो । आर्थिक पत्रकारिताको अंकगणित र जोर कि बिजोर हिसाबमा मेरो जीवनको ज्यामिति खुल्न सकिरहेकोथिएन । खुसीको सीधा रेखा त्रिकोणमा फन्को मार्दै, रिंगटा छुटाउँदै जिल्लिरहेको थियो। मन निस्ताउँदै थियो । दिमाग थाक्दै थियो ।
पत्रिकामा मैले तयार पार्ने स्तम्भ कहिले आउँथ्यो, कहिले पूरै हापिएर जान्थ्यो । काम लगाउनुअघि कुनै सुझाव नदिने तर तयार पारेर बुझाइसकेपछि यो भएन र त्यो भएन भन्दै गुनासोको चाङ लगाउने क्रम बढेपछि मन दिक्किँदै पनि थियो । त्यसमाथि नयाँ आएका दाइ पत्रकार बलजफ्ती सम्मान पाउन आफ्नो वरिष्ठता प्रदर्शन गरिरहेथे । उनले बडप्पन देखाएपछि ममा भने उल्टो असर पर्दै थियो । उनी आफ्नो शैली लाद्न खोज्थे, म हरेक मान्छेको आफ्नो शैली हुन्छ भन्थेँ ।
एकदिन मालिकले फेरि बोलाए ।
भने - 'तिम्रो काम पनि खस्किंदै गयो । तिम्रो तलब अबदेखि चार हजार रुपैयाँ मात्र । फेरि राम्रो हुँदै गयो भने बढाउँला ।'
पहिलो जागिरमा संघर्ष गरिरहेको युवा पहिलो पटकमै असफल हुँदै थियो ।
जागिरमा बढुवा हुन्छ भन्नेबारे काका, मामा र दाइ-दिदीहरूबाट सुनेको थिएँ धेरै । आफैंले स्वाद चाखेपछि भने घटुवा पनि हुँदो रैछ भनेर पहिचो चोटि थाहा भयो । तलब घटेको परमादेश मालिकबाट सुनिरहँदा प्रेमिकाले 'भविष्यका लागि पैसासाँच्नुपर्छ' भनेको कुरा कानमा झङ्कृत भयो । अब झन् बचत गर्ने पैसा फुकी-फुकीखोज्नुपर्ने दिन आयो ।
आवेगमा तातो निर्णय सुनाएँ मालिकलाई - 'जागिरबाट अब हात धुन्छु । सुक्खा हात नै बस्छु ।'
जागिर छोड्ने निर्णय लिइरहँदा आफैंभित्र डराइरहेको थिएँ, बेरोजगार प्रेमीबारे प्रेमिकाले के धारणा बनाउली भनेर । जागिर छोडेको पीडाभन्दा उसले निरुपाय र कमजोर रूपमा हेर्ली भनेर असुरक्षित महसुस गर्दै थिएँ । कमाइबाट प्राप्त हुने आत्मबल कस्तो चिज हो, त्यो दिन बुझ्दै थिएँ ।
त्यो रात अडियो अन्तर्वार्ता कागजमा उतार्न अनिदो बस्नु परेन । जागिर खाने कसरी भनेर मनभित्रैको आफ्नै वार्ताले हल्ला मच्चाइरह्यो ।
बत्ती निभ्यो । मध्यरातपछि पनि आँखा निभेन ।
मुख्य खवर
पुरुषाेत्तम गिरी @ Latest Version Copyright 2015