Saturday, March 20, 2010

इतिहास पुरुषको आवसन

पुरुषोत्तम गिरी
चैत्र ७
मुलुकले एक जना युग पुरुष गुमाएको छ । उनको जीवनको पर्याय नै संघर्षमय थियो । उनले जीवनभर संघर्ष गरे, तालि खाए र गाली खाए । सबैभन्दा लामोसमय प्रजातान्त्रिक सरकारको नेतृत्व गरे र त्यसबापत गाली पनि खाए । तर, उनले हरेश खाएनन् । उनी निरन्तर आफ्नो बाटोमा हिंडिरहे ।

निरन्तर संघर्षकै कारण उनी समकक्षी राजनीतिकर्मीहरुमा तुलनामा उचो कदका थिए । प्रजातन्त्र पुनस्थापित भएपछि उनी सत्तामा रहुन् या नरहुन् शक्तिको केन्द्रमा रहे । मुलुक उनको भनाइ र गराइबाट सधै निर्देशित भइ नै रह्यो । भन्नेहरुले भनिरहे, उनकै कारण मुलुकमा प्रजातन्त्र संस्थागत हुन सकेन । देख्नेले देखिरहे दश बर्ष लामो माओवादी हिंसात्मक विद्रोहलाई शान्ति प्रकृयामा ल्याए ।

हो, उनै इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाले ८७ बर्षको उमेरमा शनिबार प्राण त्याग गरेका छन् । उनको अवसनसंगै नेपाली राजनीतिक आकाशमा एउटा इतिहासको अन्त्य भएको छ । राजनीतिक गाडा भीरको टुप्पोमा पुग्ने बेलामा सम्झने एक सहाराको अन्त्य भएको छ ।

कोइरालाले आफ्नो जीवन अथक संघर्ष गरे । मुलुकका कुनै पनि राजनेताले नपाएको उच्च सम्मान पनि पाए । सन् २००७ मा गठबन्धन सरकारको प्रधानमन्त्रीका रुपमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीबाट दक्षिण एशियाकै नेताको रुपमा उपाधीसमेत पाए । यो उनको अनवरत राजनीतिक क्रियाशीलताको प्रतिफल थियो । एउटा पाको राजनीतिज्ञको रुपमा स्वीकारीएको तथ्य थियो ।

उनी वि.स १९८१ असार १८ गते भारतको विहार राज्यको सहषर्ा जिल्लाको टेडीमा जन्मिएका थिए । जहानिया राणा शासनका कारण पिता कृष्णप्रसाद कोइराला निर्वासित भएका कारण उनी निर्वासनकै अबस्थामा जन्मिएका हुन् ।

संघर्षका बीचमा जन्मिएका गिरिजाप्रसादले बिस. २००३ मा जुद्ध शमसेर राणाले स्थापना गरेको जुटमिलमा काम गरेका थिए । त्यहीबाट उनले आफ्नो राजनीतिक सुरु गरेका थिए । उद्योगको म्यानेजरबाट भएको अत्याचार सहन नसकेपछि उनले सबैभन्दा पहिले त्यहीबाट बिद्रोह सुरु गरे ।

मजदुरको हकहितमा बोल्ने निडरताका साथ उभिन थालेपछि उनी मजदुर नेता बनेका थिए । मजदुरको हकहितका लागि उनले नेतृत्वमा आन्दोलन समेत भयो । आन्दोलनमा उत्सर्गमा पुग्दै गएपछि वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु विराटनगर पुगे । गणेशमान सिंहसंग गिरिजाप्रसादको पहिलो भेट त्यही भएको थियो ।

विवाहको सोह्र बर्षपछि कोइराला पत्नी वियोगमा परे । पत्नी सुषमासंग उनको विवाह २००८ सालमा भएको थियो । सुषमाको रेफि्रजेनेरेटरमा लागेको आगो निभाउन खोज्दा जलेर निधन भएको थियो । ०२४ सालमा पत्नी वियोग झेले ।

जेलमा बसेर मात्रै प्रजातन्त्र आउन सक्दैन भन्ने मान्यता राखेर कोइरालाले २०२४ सालमा तत्कालीन राज्यसत्ता विरुद्ध आमरण अनसन सुरु गरे । २१ दिन सम्म पानी मात्रै पिएर अनशन बसेका थिए ।

२०१२ सालमा वीरंगजमा भएको महाधिवेशनले सुवर्ण शमसेर सभापतिमा निर्वाचित भए । गणेशमान सिंह पराजित भए । त्यही बेला काँग्रेसको महाधिवेशनले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद आफ्नो मुल मन्त्रको रुपमा अघि सारेका हुन् । त्यही महाधिवेशनले गिरिजाप्रसादलाई मोरङ जिल्लाको सभापति निर्वाचित गरेको थियो ।

पञ्चायत कालको सुरुवात पछि काँग्रेसले गरेको सशस्त्र बिद्रोहको नेतृत्वसमेत उनैले गरेका थिए । सशस्त्र आन्दोलनकै लागि आर्थिक अभाव देखिएपछि गिरिजाप्रसादले राष्ट्रबैकबाट सुन तथा गहना समेत लुटेका थिए । २०३० साल जेठ २८ गते विराटनगरबाट काठमाडौंका लागि उडेको शाही नेपाल बायु सेवा निगमको विमान कोइरालाकै नेतृत्वमा अपरहरण गरिएको थियो ।

प्रजातन्त्र पुनस्थापनाको लागि भएको २०४६ सालको आन्दोलनमा पनि गिरिजाप्रसादको महत्पूर्ण भूमिका थियो । यद्यपी उनी कम्युनिष्टहरुसंग मिले संयुक्त आन्दोलनको बिपक्षमा थिए । आन्दोलनको सफलतापछि उनले गरेको टिप्पणी विवादमा पर्‍यो । उनले त्यस बेला भनेका थिए, 'यो हामी सबैको जीत हो, पञ्चायतको पनि जीत हो ।' त्यसैगरी उनले माले, मण्डले र मसाले एकै हुन् भनेर आन्दोलनका सहयोद्धा दलहरुलाई भनेपछि विवादमा परेका थिए ।

उनी ०४८ सालको आम निर्वाचनमा सुनसरी र मोरङ दुई क्षेत्रबाट निर्वाचित भएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंको क्षेत्र नं. १ बाट एमालेका तत्कालिन महासचिव मदन भण्डारीसंग चुनाव हारेपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने अवसर पाए । त्यतिबेला कांग्रेसले १ सय १० सिट ल्याएको थियो । ०४८ जेठ १२ गते पहिलोपटक प्रधानमन्त्री भए ।

आफ्नै पार्टीको नीति तथा कार्यक्रम असफल भएपछि ०५१ असार २६ गते पदबाट कोइरालाले राजीनामा दिए र मध्यावधी निर्वाचनको घोषणा गरे । २०५१ को मध्यावधी निर्वाचनमा कांग्रेसले ८३ स्थान मात्र जित्न सक्यो । एमालेले ८८ स्थानमा विजय हासिल गर्यो । एमालेको अल्पमतको सरकार बन्यो ।

२०५२ भदौ २५ गते शेरबहादुर देउवाको नेतृत्वमा मिलीजुली सरकार निर्माण भयो । बीचमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बने । ०५४ चैत ३० गते कोइराला पुनः सरकारको नेतृत्वमा आए । पुस ५, २०५५ मा कोइरालाले अल्पमतको सरकारबाट राजीनामा दिए । पुस ८ गते कोइरालाको नेतृत्वमा कोइराला पुनः प्रधानमन्त्री भए ।

बि.सं. ०५६ मा काँग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । ०५९ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री देउवाले संसद भंग गरे । ०५९ कात्तिक २७ गतेका दिन निर्वाचनको मिति समेत घोषणा गरियो । देउवा प्रधानमन्त्री भएर संकटकाल लगाउदा कोइरालाले भनेका थिए-'माओवादीलाई गोलीबाट होइन । बोलीबाट ठिक पार्नुपर्छ ।'

यसअवधीसम्म पार्टी भित्र र बाहिर कोइरालाका अलोचकहरु बढे । सुशासन र प्रजातन्त्रको संस्थागत विकास गर्न नसकेको भन्दै उनलाई गाली गर्नेहरुको संख्या बढ्यो । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुग्यो । काँग्रेस फुट्यो । आफ्ना नजिक रहेकाहरुले उनलाई छाडे कतिपय भ्रष्टाचार आरोपमा थुनिए । उनीहरु आफैमाथि पनि आरोपहरु लाग्यो ।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि जुन आन्दोलनको नेतृत्व वयोबृद्ध गिरिजाप्रसादले लिएपछि उनको व्यक्तित्व थप उचाइमा पुग्यो । बृद्ध अबस्थामा पनि राजाको निरंकुश शासनबिरुद्ध उनले जुन साहसका साथ आन्दोलनको नेतृत्व गरे । त्यो युवाहरुको लागि मात्र होइन, अन्य नेताहरुको लागिसमेत प्रेरणाको स्रोत थियो ।

त्यसैगरी सशस्त्र विद्रोहमा होमिएका माओवादीहरुलाई सात दलीय गठबन्धनसंगको १२ बुँदे सहमतिमा ल्याउन उनले जुन साहस देखाए त्यसले मुलुकको दिशा नै परिवर्तन गरिदियो । माओवादीसंगको १२ बुंदे समझदारीका लागि उनी नयाँ दिल्लीसम्म पुगे ।

त्यही १२ बुंदेको समझदारीको बलमा भएको १९ दिने आन्दोलनका कारण नै निरंकुश राजा झुक्न बाध्य भयो । उनले लगातार रुपमा उठाउँदै आएको प्रतिनिधिसभाको पुनस्थापना भयो । फेरी एक पटक जनताको जीत भयो जुन कामको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

उनी अन्तरिक सरकारमा प्रधानमन्त्री बने । उनले साहसका साथ माओवादीलाई शान्ति प्रकृयामा ल्याए । २०६३ मंसिर ५ गते माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता भयो । यस कार्यका लागि उनलाई आलोचना गर्नेहरु पनि छन् । तर, उनले लिएको बाटो सही थियो भन्ने कुरा पुष्टि भइरहेको छ ।

एजेण्डा माओवादीकै भएपनि उनले माओवादीसंगको सहमतिको क्रममा संविधानसभालाई स्वीकार गरे । गणतन्त्रलाई अंगिकार गरे । संविधानसभाको चुनावमा माओवादी सबैभन्दा ठूलो दलको रुपमा स्थापित भयो । एउटा उग्रकम्युनिष्ट सशस्त्र विद्रोहीलाई संसदीय चुनावको बाटोबाट उनले अबतरण प्रयास जारी राखे ।

माओवादीले सरकार छाडेपछि जुन आन्दोलनको सुरुवात भयो । त्यसको स्थगित र राजनीतिक विषयहरुमा छलफलका लागि गिरिजाप्रसाद नै फेरी आवश्यक पर्‍यो । उनैको नेतृत्वमा शान्ति र संविधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन भए । उनी अस्वस्थ थिए । यद्यपी उनले लागातर रुपमा संघर्ष गरिरहे । यही साता गंगालाल हृदयरोग केन्द्रबाट र्फकंदै गर्दासमेत उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भनेका थिए, 'अव जिम्मेवारी तपाईको हो सम्ंहाल्नुस ।' उनले आफ्नो अन्तिम साससम्म पनि मुलुकको राजनीतिक अबस्था, शान्ति र संविधानका सम्बन्धमा चिन्ता गरिरहेको यसले देखाउँछ ।

यद्यपी उनलाई एकातिर छोरी मोहमा लागेको आरोप लगाइएभने अर्को तर्फ एक समय उनका सबैभन्दा नजिक भएर हरतरहका अवसरमा लिएका खुमबहादुर खड्कालगायतले माओवादीलाई शान्ति प्रकृयामा ल्याएको विषयलाई लिएर अलोचना गरिरहे । उनलाई गाली गर्नेहरु नभएका होइनन् । तर, उनको अनवरत संघर्ष नेपाली राजनीतिक लागि सधै पछ्याउनु पर्ने इतिहास हो । इतिहास पुरुष गिरिजाप्रसादलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।

No comments:

Post a Comment