Wednesday, March 31, 2010

गणतान्त्रिक धुन ।।

पल्लवी अनुराग
सल्यान वहुमुखि क्याम्पस खलङ्गा सल्यान
शिक्षाशास्त्र संकाय, स्नातक तह, दोस्रो वर्ष











आजभोली
सविंधान बनाउने गणतान्त्रिक धुन,
निरन्तर बजिरहेछ ।
हामी त्यही धुन सुनेर,
खुसियाली मनाइरहेका छौँ ।
यि धुनहरुसँगै
अरु धुनहरुपनि बज्न थालेका छन् ।
र, तालहरुपनि फेरीन थालेका छन् ।।


त्यसैले
धुनहरुमा अनेकता पाइन थालेका छन् ।
धुनहरुमा विविधता देखिन थालेका छन् ।
यसरी हामीहरु
आ–आफ्नै धुनहरुमा खुसि मनाइरहेका छौँ ।
कोही भन्छन्
राजतन्त्रको अन्त्यपछि,
सघिंयताको धुन बजेको हो ।
कोही भन्छन् १० वर्षे जनयुद्धले,
कोही भन्छन् वाह्रवर्षे प्रजातान्त्रिक अभ्यासले,
अनि,
कोही भन्छन् आम नेपालीहरुको चाहनाले ।


जे सुकै भएपनि,
गणतन्त्रको धुन आजभोली निरन्तर बजिरहेछ ।
तलदेखि माथी सम्मकाले,
झुपडिदेखि महल सम्मकाले
अनि
सिंहदरवार देखि स्यालदरवार सम्मकाले
यो धुन बजाइरहेका छौँ ।
अथवा,
यसको उपभोग गरीरहेका छौँ ।
हुनत हामीले धेरै धुनहरु सुनिसकेका छौँ ।
अव कुन धुनलाई कसरी सुन्ने होला ?
किनकी
कसैका धुनहरु मिल्दैनन्,
थरीथरीका छन् ।
कसैका तालहरु मिलदैनन्,
थरीथरीका छन् ।

यहाँ
मात्र आ–आफ्नै धुनहरु बजिरहेका छन् ।
सवैको एउटै धुन बन्न सकेको छैन ।
सवैको एउटै ताल बन्न सकेको छैन ।
तर,
यो गणतन्त्रको धुनमा नाच्नेहरु,
आ–आफ्नै तालमा नाचेका छन् ।
कोहि खुसिले नाचेका छन् ।
कोही विस्मातले नाचेका छन् ।
कोही सविंधान बनाउन नाचेका छन् ।
कोही बन्न नदिन नाँचेका छन् ।
आखिर,
सवैलाई आ–आफ्नै तालमा नाच्न मन लाग्छ ।
कीनकि यो गणतान्त्रिक धुन हो ।
यसमा सवैको समान अधिकार छ ।
धुनको समान अधिकार छ ।
सायद त्यसैले होला
मान्छेहरु,
कोही राष्ट्रिय धुनमा छन् ।
कोही अन्र्तराष्ट्रिय धुनमा छन् ।
कोही सघिंय धुनमा छन् ।
कोही क्षेत्रिय धुनमा छन् ।
कोही जातीय धुनमा छन् ।
अनि कोही छुट्टै राज्यको धुनमा छन् ।


जेहोस्, गणतान्त्रिक धुनलाई,
सवैले सुनेर उपयोग गरीरहेका छन् ।
भोली यो धुन कसरी बज्ने हो, थाहा छैन ।
तर धुनले हरेक दिन,
आफ्नो उचाई बढाउदै छ ।
स्थाईत्व कायम गर्दैछ ।
त्यसैले त,
धुनहरुसँग समुह देख्न थालिएका छन् ।
मण्डली भेट्न थालिएका छन् ।
तर
यहाँ अझैपनि मान्छेहरु,
कति शास्त्रीय धुनमा छन् ।
कति आधुनिक धुनमा छन् ।
कति उत्तरआधुनिक धुनमा छन् ।
यसर्थ
सवै नेपालीहरु आ–आफ्नै धुनमा छन् ।
सवै नेपालीहरु आफ्नै तालमा छन् ।
कसैले कसैको धुन सुनेका छैनन् ।
कसैले कसैको ताल सुनेका छैनन् ।

यहाँ त केवल
गणतान्त्रिक धुन बजिरहेछ ।
सत्ताका लाई सत्ताको धुन बजिरहेछ ।
पदका लाई पदको धुन बजिरहेछ ।
तर, जनतालाई भने,
महंगीको, गरीवीको, रोगको अनि भोकको धुन बजिरहेछ ।
चारी डकैती, हत्या अनि अपहरणको धुन बजिरहेछ ।
जमिम, अरुण जस्ता कलमहरु कसैको धुन बनिरहेका छन् ।
यथार्थमा,
असुरक्षाको धुन बजिरहेछ ।
दण्डहिनताको धुन बजिरहेछ ।


एउटै देशका फरक–फरक धुनहरु ।
एउटै देशका फरक–फरक तालहरु ।
गणतान्त्रिक धुनसँग मिसिएर,
निरन्तर बजिरहेछन् ।।
कोही बाँच र लेख्न देऊको धुन बजाईरहेछन् ।
कोहि शान्तिसुरक्षाको धुन बजाईरहेछन् ।
धुन बजिरहेका छन् ।
कतै चर्को त कतै मधुरो बजेका छन् ।
कतै मधुरो त कतै चर्को सुनिएका छन् ।
तर धुन बजिरहेका छन् ।
वास्तवमा,
सत्ताका धुनहरु तल धेरै सुनिएका छन् ।
जनताका धुनहरु माथी थोरै सुनिएका छन् ।
यहाँ गणतान्त्रिक धुन यसरी नै गुञ्जिरहेछ ।
हामी सवैले सुनिरहेका छौँ,
गणतान्त्रिक धुन मज्जैले सुनिरहेका छौँ ।
त्यही धुन सुनेर खुसियाली मनाईरहेका छौँ ।

तर यो धुन,
अव कहिले सम्म बज्ने हो थाहा छैन ।
तैपनि हरेकले धुनको आशा गरेका छन् ।
तैपनि हरेकले धुनको भरोसा गरेका छन् ।
किनकी,
यो धुन,
युगौँपछि गुञ्जेको मौलीक धुन हो ।
त्यसैले धुनसँग हरेकको जिवन गुञ्जिनुपर्छ ।
त्यसैले धुनसँग हरेकको विचार समेटीनुपर्छ ।
किनभने,
यहि धुनको लागी,
धेरैले रगत बगाएका छन् ।
धेरैले पसिना पोखाएका छन् ।
धेरैले सिन्दुर पुछेका छन् ।
धेरैले आफन्त गुमाएका छन् ।
तसर्थ,
गणतान्त्रिक धुन, मात्रधुन बन्नुहदैन,
देशको धुन बन्नुपर्छ ।
विकासको धुन बन्नुपर्छ ।
शहिदको सपनाको धुन बन्नुपर्छ ।
तोकीएकै समयमा सविंधान लेख्ने धुन बन्नुपर्छ ।
राष्ट्रको धुन बन्नुपर्छ ।
राष्ट्रियताको धुन बन्नुपर्छ ।
राष्ट्रिय एकताको धुन बन्नुपर्छ ।।।।

धन्यवाद ।

साहित्य कर्नर माया, प्रेम र विवाह सम्वन्धि भ्रम

भन्छन्–“माया नमार्नुस है।” माया त मार्ने कुरै हैन । माया लगाएपछि माया लाग्दो रहेछ । माया प्रेमका विषयमा म तपाँई भन्दा अनुभवी त होइन तर मलाई लाग्छ, माया, पे्रम र विवाह फरक–फरक कुरा हुन । सरल वाक्यमा सिधा कुरा यसरी भनौँ, धेरैसँग माया हुन सक्छ, थोरैसँग प्रेम हुन्छ र एउटासँग मात्र विवाह गर्नुपर्दछ । मेरो मतलव मायाप्रेम भन्नासाथ त्यसलाई शारीरिक सम्पर्कसँग जोड्नुहुदैन । माया गरिएका सबै तपाईंका प्रेमी–प्रेमिका हुँदैनन् र सवै प्रेमी–प्रेमिकासँग तपाईको विवाह हुदैन । अझ विवाह भन्ने कुरा तपाईंका प्रेमी–प्रेमिकासँग नहुन पनि त सक्छ नि, होइन र ?
संसार मनको विस्तार हो । मनमा माया हुन्छ । त्यसैले माया जति बाँड्यो यसको दायरापनि बढ्दै जान्छ । म त भन्छु हाम्रो जिवनको आधार र आशाको अर्को रुप नै माया हो । हो म त्यही आशाको कुरा गरीरहेको छु जसले हामीलाई जिवन्त बनाईराखेको छ । सोच्नोस्, यदि हामीमा कुनै आशा रहेन भने जीवन पनि रहन्न । र, आत्महत्या भनिनछ नी, त्यो सम्पुर्ण रुपमा आशा र मायाको समाप्ती हो । हो, त्यसैले आफुलाई आशावादी बनाउनुहोस् । माया–प्रेम भनेको जिवन जिउने कला भएर नै होला नी सर जेम्स एम. वेरी भन्छन्–“माया प्रेम विनाको जिवनमा अरु जे सुकै कुरा भएपनि त्यसले खासै ठुलो अर्थ राख्दैन ।
‘उसले मलाई धोका दियो । तिनको प्रेम झुठो रहेछ । साला जिन्दगी अब जिउनुको नै के अर्थ छ र ? आफु त लभ ट्रयाजिडिमा छु । त्यसले मलाई धोका दिने, मैले पनि जानेको छु । ए ! पे्रम गर्ने तर विवाह नगर्ने ? म उसकै कारणले पागल भएँ ।’ यी र यस्तैखाले होलसेल भाषा सुन्न पाइन्छ माया–प्रेम गर्छौँ भन्नेहरुमा । म त अचम्ममा नै पर्छु, के पे्रममा धोका हुन्छ ? के प्रेमले पनि पागल बनाउँछ ? कुभलो चिताउँछ ? म त भन्छु, पे्रममा न त धोका हुन्छ, न पिडा, न त जलन । प्रेममा विजोड हुन सक्छ तर विछोड हँुदैन ।
तपाईंकै कति मायालु र प्रेमीहरु होलान्, जसलाई तपाईंले भेट्नु भएकै छैन, सायद नदेख्नु भएको पनि हुन सक्छ । तर पनि अगाध माया गर्छन्, माया गर्नुहुन्छ । त्यसैले त म भन्दैछु, यसलाई दुरताले केहि फरक पार्दैन । माया बग्ने हाईवे नै छुट्टै हुन्छ साथी, यसमा न त जाम हुन्छ, न त बाढी पहिरोको खतरा नै । यदि तपाईं आफुलाई मैले प्रेममा धोका खाएँ भन्नुहुन्छ भने म त भन्छु–तपाईंको प्रेम नै भएको थिएन, तपाईंमा भ्रम मात्र परेको थियो । माया–प्रेम बढि भावनात्मक कुरो हो । यसले भौतिक सुख सुविधासँग त्यति सरोकार पनि राख्दैन र यो व्यवहारिक नहुन सक्छ तर विवाह बढि व्यवहारिक कुरा हो । ‘माया बजारमा खोजेर पाइदैन, यो त तपाईंको मुटुमा हुन्छ’–ओशो अगाडि भन्छन्,–‘तपाईं आफु प्रेम चाहनुहुन्छ भने प्रेम नै गनुहोस्, पे्रमले पे्रम नै दिन्छ ।’ शंका, घृणा, अविश्वास, पीडा, जलन, धोका, विश्वासघात पे्रमका शत्रु हुन् । सम्झनुस्, यि कुराले प्रेम हुँदैन, पे्रमले विश्वास खोज्छ । विश्वासले पे्रम प्रगाढ बनाउँछ ।
हामीसँग एउटा ठुलो भ्रम छ । विवाह भनेको मायाको अल्टिमेट गोल हो भनेर । जो सँग प्रेम भयो उसैसँग विवाह हुनु अति राम्रो हो तर के पे्रमको पर्यावाचि विवाह नै हो त ? मैले भनें नि प्रेम भावनात्मक हुन्छ । शारीरिक सम्पर्क, शारीरिक सन्तुष्टि हो भने पे्रम भावनात्मक र मानसिक कुरा । विवाह भनेको व्यवहारिक कुरो हो, सम्वन्ध हो । सम्वन्धमा हिसावकिताव हुन्छ । आफुलाई अनुकुल हुने जिवनसाथीको रोजाई हुन्छ, यो यर्थाथ हो ।
विवाह गर्ने साथीहरुले विवाह अघि धेरै ठुला सम्झौता नगर्नु राम्रो हो किनकी तपाईंले जिवन कटाउनु छ । तर, विवाह पछि धेरै सम्झौता गर्नुपर्दछ किनकी यो सम्वन्ध हो । यसमा लेनदेन र समझदारी हुन्छ । त्यसैले हतारमा विवाह गर्ने र फुर्सदमा पछुताउने काम राम्रो होइन । तर सधैँ परिस्थीति हामीले चाहेजस्तो नहुन पनि त सक्छ । पे्रम त फेरी अरुसँग पनि हुन सक्छ तर विवाह फेरी पनि हुने कुरो विषेश परिस्थीति वाहेक त्यति व्यावहारिक हुदैन ।
कसैप्रति अनावश्यक क्रेजी हुनु तपाईंको पागलपना मात्र हो । यसले यर्थाथता लुकाउँछ र विनासतर्फ डो¥याउँछ । पे्रम गर्नेहरुले पे्रमीको कुभलो चिताउँदैनन् । के तपाईं मान्नुहुन्छ, प्रेम प्राप्तीमा मात्र होइन त्याग पनि हो । आफुले पाएमा पे्रमी, नपाएमा धोकेवाज कसर िहुन्छ ? प्रम अव्यक्त पनि हुनसक्छ र एकोहोरो पनि हुन सक्छ तर सम्वनध दोहोरो हुनुपर्दछ । सम्झनुस्–आफुलाई मन नपर्ने व्यवहार अरुलाई पनि मन नपर्न सक्छ । त्यसैले पहिले आफुलाई सोध्नुस्, अनुभुत गर्नुहोस् । हाम्रो वोली र व्यवहार नै हाम्रो परिचय हो । मन नदुखाउनुहोला, दुखेको मनको औषधी पाउन गाह्रो छ, नपाउन पनि सक्छ । सधैँ सम्झीराख्नुस–धोका वा पिडा भएको नाममा लहलहैमा लागेर आफुलाई निरास, अधैर्य र पागलपनको नजिक नपु¥याउनुहोस् । त्यसो गर्नु भो भने तपाईंले आफैप्रति अप्रेम गरेको ठहर्छ ।
अन्तिममा, प्रेम एउटा सुखको सागर हो । यसबाट जति चाहियो त्यति नै सुख र खुसी लिन सकिन्छ । यसले सुख, शान्ति, खुसि, आशा, सुरक्षा र जिवन जिउने शक्ति पखिन्छ, नकि जीवन समाप्ती । जीवन रहे पो पे्रम हुन्छ, जीवन नै सकिए कसरी पे्रम ? सवै सवैको पे्रम अमर रहोस्, सम्वन्ध प्रगाढ बनोस् । आफु खुसि रहनुहोस् र अरुलाई पनि खुसि राख्न मद्दत गर्नुहोस् । शुभकामना !
प्रस्तुती ः पुरुषोत्तम गिरी

Friday, March 26, 2010

निखिल र सञ्चिता विवाह गरेर मुम्बईमा


अन्ततः नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइाटेलले विवाह गरेका छन् । उनीहरूले अज्ञात स्थलमा अत्यन्तै सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । हाल उनीहरू दुवै जना मुम्बईमा छन् । निखिल-सञ्चिताको प्रेमप्र्रसंगले नेपाली चलचित्र उद्योगलाई तताए पनि उनीहरूको यो प्रेमको गन्तव्य बिन्दु विवाह हुन नसक्ने धेरैको ठम्याइ थियो । 'उनीहरूबीच प्रेम छ भन्ने थाहा थियो', दुवै कलाकारसँग निकट रहेका एक कलाकारले विवाह भएको थाहा भएपछि आश्चर्यचकित भएको बताउादै भने- 'तर विवाह हुनका निम्ति केही प्राविधिक कारण बाधक देखेको थिएा ।' उनका अनुसार प्रेमसम्बन्ध गहिरो भएपछि यस्ता बाधाहरू स्वतः हट्ने रहेछन् ।

नेपाली चलचित्र उद्योगमा राजेश हमाल र करिश्मा मानन्धरको केमेस्ट्री मिलेको भनेजस्तै निखिल र सञ्चिताको जोडी पनि मिल्दो मानिन्छ । सात वर्षअघि उनीहरूको पहिलो चिनजान भएको थियो । प्रारम्भिक सम्बन्ध कटु रहे पनि बिस्तारै सुमधुर बन्दै गएको सम्बन्ध तीन वर्षअघि गहिरो प्रेममा पुगेको थियो । एकातर्फ वैवाहिक सम्बन्ध-विच्छेद गरेर बसेकी नायिका सञ्चिता र अर्कातर्फ असहज वैवाहिक सम्बन्धबाट निकास खोजिरहेका नायक निखिलबीच सम्बन्ध गाढा हुँदै गयो ।

'खासमा हामीले विवाह गरेको १३ महिना भैसकेको छ', गत आइतबार मुम्बई प्रस्थान गर्ने क्रममा एयरपोर्टमा भेटिएका निखिल उप्रेतीले साप्ताहिकसँग भने- 'यो कुरा व्यक्तिगत भएकाले हामीले सार्वजनिक गर्न चाहेनौं ।' यस विषयमा मुम्बईमै रहेकी नायिका सञ्चिता लुइाटेलसँग पनि प्रतिक्रिया मागिएको थियो । 'हामीले विवाह गरेको साँचो हो ।' टेलिफोन कुराकानीमा नायिकाले भनिन्- 'यो विषयलाई सार्वजनिक गर्दा केही अप्ठ्यारो पर्ला कि भनेर चुप लागेर बसेका थियौं, अब लेखिदिनुभए हुन्छ ।'

मुम्बईमा एक फ्लाट लिएर सँगै बसेका यी नायक-नायिकाले ५ वर्ष लामो प्रेमसम्बन्धलाई वैवाहिक रूप दिएको बताए । 'मेरो पहिलो घरबार बिगि्रएकाले सञ्चितासँग विवाह गरेको होइन,' कूटनीतिक शैलीमा निखिलले भने- 'दाम्पत्य जीवनमा केही असन्तुष्टि त भैहाल्छ, सञ्चिता र म एक-अर्कालाई प्रेम गथ्र्यौं, त्यसैले पनि विवाहको बाटो रोजिएको हो ।' नायक निखिल उप्रेतीले करिब ७ वर्षअघि कोपिला उप्रेतीसँग प्रेमविवाह गरेका थिए । कोपिला र निखिल दुवै उप्रेती नै भए पनि उनीहरूले पारिवारिक विद्रोह गर्दै विवाह गरेका थिए । निखिलको परिवारले उनको त्यो विवाहलाई हालसम्म पनि स्वीकार गर्न नसकेको निकटस्थ स्रोत बताउँछ ।

निखिल र सञ्चिताले आफूखुसी १३ महिनाअघि अर्थात् गत वर्षको फागुनमा विधिवत् विवाह गरेको बताए, तर दुवैका परिवारले आफूखुसी गरेको विवाहलाई मान्यता नदिने बताएपछि गत माघ ६ गते बुधबार श्रीपञ्चमीका दिन उनीहरूले सानो घरेलु जमघटमा फेरि टीकोटालो गरेका थिए । पारिवारिक सूत्रका अनुसार केही दिनअघि मात्र सञ्चिताको अनुपस्थितिमै दुवै परिवारका बाबुआमा -सम्धी-सम्धिनी) ले अर्को एक कार्यक्रममा भेट गरेका थिए ।

'हामी दुवै धार्मिक प्रवृत्तिका भएकाले पनि नजिक भयौं', नायिका सञ्चिताले भनिन्- 'उहाँले एक दिन मलाई मन पराएको कुरा बताउनुभयो, मलाई पनि उहाँ मन पथ्र्यो, त्यसैले सम्बन्ध सहजै अगाडि बढ्यो ।' निखिल विवाहित भएको सञ्चितालाई थाहा थियो, यस आधारमा उनले निखिललाई घर-व्यवहार मिलाएर परिवारसँग कुराकानी गरेर मात्र विवाह गर्ने प्रस्ताव राखेकी थिइन् । त्यसअनुसार निखिलले पनि सबै कुरा मिलाएको बताएपछि अब साथै बस्ने तयारीमा उनीहरू पुगेको बताइन्छ । घर बनाए पनि विगत एक वर्षयता निखिल घर नगई दिदीको घरमा बस्थे ।

विगत चार वर्षयता निखिल र उनकी श्रीमती कोपिलाबीच निरन्तर असमझदारी बढ्नुले पनि निखिल र सञ्चिताबीचको सम्बन्ध जीवनसाथीको हदसम्मका लागि बढेको थियो ।

'हामी राम्रा साथी बन्यौं, त्यसपछि यो सम्बन्धलाई जीवनसाथीमा परिणत गर्ने निर्णय गर्‍यौं,' निखिलले भने- 'सुख-दुःखका हरेक कुरा आपसमा सेयर गर्ने क्रममा एक-अर्कालाई राम्रोसँग बुझ्यौं ।' निखिल र सञ्चिताले विवाह गरिसकेको तथा उनीहरूबाट एक सन्तान जन्मिसकेको बजार हल्ला चलेको भए पनि त्यो निराधार भएको निखिल बताउँछन् । निखिलले भने- 'म नेपाली चलचित्र उद्योगबाट केही समयका लागि रेस्ट गर्न चाहन्छु,, अब दुईवटा भोजपुरी चलचित्र सकेर केही समय उपचार र आराममा बिताउने योजनामा छु ।' विवाहित जीवन बिताइरहेका निखिल र वैवाहिक सम्बन्धलाई विच्छेद गरेर बसेकी नायिका सञ्चिताबीचको यो सम्बन्ध सहजै अघि बढ्न गाह्रो भएकाले पनि दुवैले विवाहको कुरा लामो समयसम्म लुकाउनुपरेको बताए । हामीले चोखो माया गरेका हौं, तर भन्न डरायौं, नायिका सञ्चिताले भनिन्- 'अब डर छैन, शून्यबाट नै नयाँ जीवन प्रारम्भ गर्दैछौं ।'

पाँच वर्षअघि सोभित बस्नेतद्वारा निर्देशित 'चोर-सिपाही' को सुटिङताकादेखि नै निखिल र सञ्चिताको मित्रता घनिष्ठ बनेको थियो । चोर-सिपाहीमा दुवै जना नायक-नायिकाको भूमिकामा थिए । निखिल र सञ्चिताको जोडी जम्ने भनिए पनि यी दुईले एक-अर्काको जोडी बनेर अभिनय गरेका चलचित्रको संख्या जम्मा ६ मात्र छ । चोर-सिपाहीपछि मर्यादा, दाग, युद्ध, विजयपथ, माया त माया होमा उनीहरू दुवै एक-अर्काको जोडीका रूपमा देखिएका छन् ।

Saturday, March 20, 2010

'इतिहास पुरुष' काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको देहवासन/आइतवार अन्त्यष्टि गरिने

पुरुषोत्तम गिरी
चैत्र ७
नेपाली राजनीतिका शिखर पुरुष काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको शनिबार देहवासन भएको छ । काँग्रेस नेता शेरबहादुर देउवाका अनुसार उनको निधन १२ बजेर १० मिनेट जाँदा भएको हो ।

'केन्दि्रय समितिको आकस्मिक बैठक बस्यो र डाक्टरहरुको सिफारिस र निर्णय अनुसार उहाँको निधन १२ बजेर १० मिनेटमा भएको निर्णय भयो' देउवाले भने ।

आइतवार बिहान ८ बजेदेखि दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि पार्थिक शरिरलाई राखिने छ । त्यसपछि शव यात्रा गरिने छ ।

कोइरालाको निधनको खवर सुनेपछि मण्डिखाटनरस्थित छोरी सुजाताको निवासमा भीड बढ्न थालेको छ । काँग्रेस नेताहरु आइपुगीसकेका छन् ।

सञ्चारकर्मीहरुको पनि उल्लेख्य भीड छ । मन्त्रीहरु आकस्मिक मन्त्रिपरिषद्को बैठकका लागि प्रधानमन्त्री कार्यालयतर्फ लागेका छन् । मन्त्रिपरिषद्ल् कही छिनमा कोइरालालाई दिइने सम्मानका सम्बन्धमा निर्णय गर्ने छ ।

उपस्थित भीडको अनुहार मलिन देखिन्छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । संविधान जारी गर्ने मिति नजिकिंदै गर्दा र शान्ति प्रकृयामा अवरोध भइरहेको बेलामा यसका प्रमुख अभियन्त कोइरालाको निधनमा यो प्रश्न आउनु स्वभाविकै हो ।

यसअघि बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई स्वास्थस्थिति बुझेर फर्केका थिए । राष्ट्रपति र प्रधानमन्त्री कोइरालाको अन्तिम् दर्शनका लागि आउने कार्यक्रम छ । उपराष्ट्रपति परमानन्द झा कोइराला निवास आइपुगेका छन् ।

यस्तो थियो कोइरालाको स्वास्थ्य:

'मैले कहिल्यै उहाँलाई यस्तो गलेको देखेको थिइनँ,' कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ मन्डिखाटार भेट्न पुगेका प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिक्रिया दिँदै भने, 'पहिलोपटक मैले उहाँ (कोइराला) थकित र गलेको देखें । नत्र बिरामी अवस्थामा पनि उहाँको अनुहारमा चमक पाउँथें ।'

बिहीबार राति एकाएक पखाला चलेपछि कोइरालाको स्वास्थ्यमा समस्या बढेको छ । अस्पताल नलगी चिकित्सकहरूले मन्डिखाटारस्थित निवासमै विशेष सुविधासहित उपचार गरेका छन् । प्रधानमन्त्री नेपाल मन्त्रिपरिषदका २३ सदस्यहरूसहित साँझ साढे ५ बजे कोइरालालाई भेट्न पुगेका थिए । प्रधानमन्त्रीले छोटो कुराकानी गरे पनि अन्य मन्त्रीहरू कोइरालालाई हेरेर मात्रै फर्किए ।

'प्रधानमन्त्री जाँदा गिरिजाबाबु सुतिरहनुभएको थियो । स्वास्थ्य अवस्थाबारे चिकित्सक अर्जुन कार्कीले 'बि्रफिङ' गर्नुभयो,' प्रधानमन्त्रीका प्रेस सल्लाहार विष्णु रिजालले भने, 'करिब पन्ध्र मिनेट बसाइमा गिरिजाबाबुले धेरै बोल्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन । र्फकने बेलामा दुई वाक्य मात्रै बोल्नु भयो । उनका अनुसार गिरिजाबाबुले प्रधानमन्त्रीलाई 'राष्ट्र हितमा काम गर्नुहोस्, राष्ट्रको समस्या सहमतिका साथ अघि बढाउनुहोस्' भन्ने सुझाव दिएका थिए । दुई दिनअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई

पनि कोइरालाले 'तपाईं जिम्मेवार भएर स्थितिलाई सम्हालेर लैजानु होस् । तपाईंमा जिम्मेवारी छ' भनेका थिए ।८७ वर्षीय कोइरालाले बुधबार सहिद गंगालाल हृदय केन्द्रको शय्याबाट समेत शान्ति प्रक्रिया र संविधान निर्माण कार्य अघि नबढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । 'मुखले मात्रै होइन, उहाँको आँखा र अनुहारले समेत शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने हो कि होइन, संविधान बन्ने हो कि होइन भन्ने चिन्ता व्यक्त गरेको म अनुभव गर्छु,' कांग्रेस केन्द्रीय सदस्य कृष्ण सिटौलाले भने । बिहीबार राति १२ बजे कोइरालालाई अचानक पखाला चल्न थालेको थियो । पखालाले च्यापेपछि शिथिल कोइरालालाई १ बजे श्वासप्रश्वासको समस्या पनि थपियो । चिकित्सकले त्यतिबेला उनको स्वास्थ्य जोखिममा रहेको बताएका थिए । पखालाले शुक्रबार दिउँसोसम्म सताएको थियो । अस्पताल लाने छलफल भए पनि कोइरालाकै इच्छामा निवासमै विशेष सुविधासहित उपचार थालिएको छ । स्लाइनबाट एन्टिबायोटिक दिइएको छ भने अक्सिजने मात्रा बढाइएको छ । प्रतिमिनेट दुई लिटर अक्सिजन दिइँदै आएकामा शुक्रबार चार लिटर पुर्‍याइएको छ । कोइरालाको स्वास्थ्यमा निरन्तर उतारचढाब आउन थालेपछि चिकित्सकले 'पूर्ण जोखिमको अवस्थामा पनि नरहेको र बुढौली उमेरका कारण जोखिममुक्त पनि नरहेको' बताएका छन् ।

उपचारमा चिकित्सकहरु जगदीश अग्रवाल, मनबहादुर केसी, अर्जुन कार्की, आनन्द शर्मा र जेजुनाथको टोली संलग्न छ । चिकित्सकले छाती, आँखा, मस्तिष्क र होमोग्लोबिन परीक्षण गरेका थिए । अग्रवालका अनुसार कोइरालामा रक्तअल्पता देखिएको छैन र रगतमा पनि कुनै खराबी छैन । उनको स्वास्थ्य अवस्था बुझ्न दिउँसैदेखि बाहिर प्रतीक्षारत सञ्चारकर्मीलाई साँझ मात्रै अग्रवालले जानकारी गराएका थिए । 'पखाला नियन्त्रणमा आएको छ, स्वास्थ्य स्थिर छ,' उनले भने, 'रक्तअल्पताको समस्या भने देखिएकोछैन ।' कोइरालालाई गत आइतबार रक्तअल्पता (होमोग्लोबिन) देखिएका कारण सहिद गंगालाल हृदय केन्द्रमा चार दिन भर्ना गरिएको थियो । चिकित्सकहरूले बुढौली उमेरमा रगत दिएका कारण पनि शिथिलता बढेको हुन सक्ने बताएका छन् । 'बुढौली उमेरका कारण जोखिममुक्त भनेर भन्न सकिँदैन तर उच्च जोखिममा पनि छैन,' अग्रवालले भने ।

जुनसुकै बेला पनि उच्च जोखिम आउन सक्ने भन्दै कोइरालालाई कडा निगरानीमा राखिएको छ । सहयोगीका अनुसार दुई/तीन जनाको टोली चौबीसै घन्टा निगरानीमा बस्न थालेको छ । पछिल्लो समय छोरी सुजाताको मन्डिखाटारस्थित निवासमा बस्दै आएका कोइरालाको स्वास्थ्य बुझ्न कार्यकर्ता र सञ्चारकर्मीको भीड छ । संविधानसभा निर्वाचन र शान्ति प्रक्रियाको नेतृत्व लिएका कोइराला पछिल्लोपटक राजनीतिक अभिभावकको भूमिकामा छन् । उनले सबै दलका नेताहरूलाई सहमति, सहकार्य र एकताको बाटोबाट अघि बढ्न आग्रह गर्दै आएका छन् ।

कोइरालाको उपचारमा संलग्न डा. अर्जुनबहादुर कार्कीका अनुसार कोइराला बिहान पाँच बजेदेखि अचेत अबस्थामा पुगेका हुन् । त्यसपछि उनको प्रत्रिक्रिया छैन । अचेतअबस्थाबकाट फर्काउनका लागि डाक्टरहरुले प्रयास जारी राखेको उनले बताए । तर, परिवार र कोइरालाकै आग्रह अनुसार अस्पताल नलगिएको पनि उनले बताए ।

इतिहास पुरुषको आवसन

पुरुषोत्तम गिरी
चैत्र ७
मुलुकले एक जना युग पुरुष गुमाएको छ । उनको जीवनको पर्याय नै संघर्षमय थियो । उनले जीवनभर संघर्ष गरे, तालि खाए र गाली खाए । सबैभन्दा लामोसमय प्रजातान्त्रिक सरकारको नेतृत्व गरे र त्यसबापत गाली पनि खाए । तर, उनले हरेश खाएनन् । उनी निरन्तर आफ्नो बाटोमा हिंडिरहे ।

निरन्तर संघर्षकै कारण उनी समकक्षी राजनीतिकर्मीहरुमा तुलनामा उचो कदका थिए । प्रजातन्त्र पुनस्थापित भएपछि उनी सत्तामा रहुन् या नरहुन् शक्तिको केन्द्रमा रहे । मुलुक उनको भनाइ र गराइबाट सधै निर्देशित भइ नै रह्यो । भन्नेहरुले भनिरहे, उनकै कारण मुलुकमा प्रजातन्त्र संस्थागत हुन सकेन । देख्नेले देखिरहे दश बर्ष लामो माओवादी हिंसात्मक विद्रोहलाई शान्ति प्रकृयामा ल्याए ।

हो, उनै इतिहास पुरुष गिरिजाप्रसाद कोइरालाले ८७ बर्षको उमेरमा शनिबार प्राण त्याग गरेका छन् । उनको अवसनसंगै नेपाली राजनीतिक आकाशमा एउटा इतिहासको अन्त्य भएको छ । राजनीतिक गाडा भीरको टुप्पोमा पुग्ने बेलामा सम्झने एक सहाराको अन्त्य भएको छ ।

कोइरालाले आफ्नो जीवन अथक संघर्ष गरे । मुलुकका कुनै पनि राजनेताले नपाएको उच्च सम्मान पनि पाए । सन् २००७ मा गठबन्धन सरकारको प्रधानमन्त्रीका रुपमा भएको भारत भ्रमणमा भारतीय प्रधानमन्त्रीबाट दक्षिण एशियाकै नेताको रुपमा उपाधीसमेत पाए । यो उनको अनवरत राजनीतिक क्रियाशीलताको प्रतिफल थियो । एउटा पाको राजनीतिज्ञको रुपमा स्वीकारीएको तथ्य थियो ।

उनी वि.स १९८१ असार १८ गते भारतको विहार राज्यको सहषर्ा जिल्लाको टेडीमा जन्मिएका थिए । जहानिया राणा शासनका कारण पिता कृष्णप्रसाद कोइराला निर्वासित भएका कारण उनी निर्वासनकै अबस्थामा जन्मिएका हुन् ।

संघर्षका बीचमा जन्मिएका गिरिजाप्रसादले बिस. २००३ मा जुद्ध शमसेर राणाले स्थापना गरेको जुटमिलमा काम गरेका थिए । त्यहीबाट उनले आफ्नो राजनीतिक सुरु गरेका थिए । उद्योगको म्यानेजरबाट भएको अत्याचार सहन नसकेपछि उनले सबैभन्दा पहिले त्यहीबाट बिद्रोह सुरु गरे ।

मजदुरको हकहितमा बोल्ने निडरताका साथ उभिन थालेपछि उनी मजदुर नेता बनेका थिए । मजदुरको हकहितका लागि उनले नेतृत्वमा आन्दोलन समेत भयो । आन्दोलनमा उत्सर्गमा पुग्दै गएपछि वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु विराटनगर पुगे । गणेशमान सिंहसंग गिरिजाप्रसादको पहिलो भेट त्यही भएको थियो ।

विवाहको सोह्र बर्षपछि कोइराला पत्नी वियोगमा परे । पत्नी सुषमासंग उनको विवाह २००८ सालमा भएको थियो । सुषमाको रेफि्रजेनेरेटरमा लागेको आगो निभाउन खोज्दा जलेर निधन भएको थियो । ०२४ सालमा पत्नी वियोग झेले ।

जेलमा बसेर मात्रै प्रजातन्त्र आउन सक्दैन भन्ने मान्यता राखेर कोइरालाले २०२४ सालमा तत्कालीन राज्यसत्ता विरुद्ध आमरण अनसन सुरु गरे । २१ दिन सम्म पानी मात्रै पिएर अनशन बसेका थिए ।

२०१२ सालमा वीरंगजमा भएको महाधिवेशनले सुवर्ण शमसेर सभापतिमा निर्वाचित भए । गणेशमान सिंह पराजित भए । त्यही बेला काँग्रेसको महाधिवेशनले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद आफ्नो मुल मन्त्रको रुपमा अघि सारेका हुन् । त्यही महाधिवेशनले गिरिजाप्रसादलाई मोरङ जिल्लाको सभापति निर्वाचित गरेको थियो ।

पञ्चायत कालको सुरुवात पछि काँग्रेसले गरेको सशस्त्र बिद्रोहको नेतृत्वसमेत उनैले गरेका थिए । सशस्त्र आन्दोलनकै लागि आर्थिक अभाव देखिएपछि गिरिजाप्रसादले राष्ट्रबैकबाट सुन तथा गहना समेत लुटेका थिए । २०३० साल जेठ २८ गते विराटनगरबाट काठमाडौंका लागि उडेको शाही नेपाल बायु सेवा निगमको विमान कोइरालाकै नेतृत्वमा अपरहरण गरिएको थियो ।

प्रजातन्त्र पुनस्थापनाको लागि भएको २०४६ सालको आन्दोलनमा पनि गिरिजाप्रसादको महत्पूर्ण भूमिका थियो । यद्यपी उनी कम्युनिष्टहरुसंग मिले संयुक्त आन्दोलनको बिपक्षमा थिए । आन्दोलनको सफलतापछि उनले गरेको टिप्पणी विवादमा पर्‍यो । उनले त्यस बेला भनेका थिए, 'यो हामी सबैको जीत हो, पञ्चायतको पनि जीत हो ।' त्यसैगरी उनले माले, मण्डले र मसाले एकै हुन् भनेर आन्दोलनका सहयोद्धा दलहरुलाई भनेपछि विवादमा परेका थिए ।

उनी ०४८ सालको आम निर्वाचनमा सुनसरी र मोरङ दुई क्षेत्रबाट निर्वाचित भएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई काठमाडौंको क्षेत्र नं. १ बाट एमालेका तत्कालिन महासचिव मदन भण्डारीसंग चुनाव हारेपछि कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने अवसर पाए । त्यतिबेला कांग्रेसले १ सय १० सिट ल्याएको थियो । ०४८ जेठ १२ गते पहिलोपटक प्रधानमन्त्री भए ।

आफ्नै पार्टीको नीति तथा कार्यक्रम असफल भएपछि ०५१ असार २६ गते पदबाट कोइरालाले राजीनामा दिए र मध्यावधी निर्वाचनको घोषणा गरे । २०५१ को मध्यावधी निर्वाचनमा कांग्रेसले ८३ स्थान मात्र जित्न सक्यो । एमालेले ८८ स्थानमा विजय हासिल गर्यो । एमालेको अल्पमतको सरकार बन्यो ।

२०५२ भदौ २५ गते शेरबहादुर देउवाको नेतृत्वमा मिलीजुली सरकार निर्माण भयो । बीचमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार बने । ०५४ चैत ३० गते कोइराला पुनः सरकारको नेतृत्वमा आए । पुस ५, २०५५ मा कोइरालाले अल्पमतको सरकारबाट राजीनामा दिए । पुस ८ गते कोइरालाको नेतृत्वमा कोइराला पुनः प्रधानमन्त्री भए ।

बि.सं. ०५६ मा काँग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । ०५९ जेठ ८ गते तत्कालिन प्रधानमन्त्री देउवाले संसद भंग गरे । ०५९ कात्तिक २७ गतेका दिन निर्वाचनको मिति समेत घोषणा गरियो । देउवा प्रधानमन्त्री भएर संकटकाल लगाउदा कोइरालाले भनेका थिए-'माओवादीलाई गोलीबाट होइन । बोलीबाट ठिक पार्नुपर्छ ।'

यसअवधीसम्म पार्टी भित्र र बाहिर कोइरालाका अलोचकहरु बढे । सुशासन र प्रजातन्त्रको संस्थागत विकास गर्न नसकेको भन्दै उनलाई गाली गर्नेहरुको संख्या बढ्यो । माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुग्यो । काँग्रेस फुट्यो । आफ्ना नजिक रहेकाहरुले उनलाई छाडे कतिपय भ्रष्टाचार आरोपमा थुनिए । उनीहरु आफैमाथि पनि आरोपहरु लाग्यो ।

तर, पूर्वराजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि जुन आन्दोलनको नेतृत्व वयोबृद्ध गिरिजाप्रसादले लिएपछि उनको व्यक्तित्व थप उचाइमा पुग्यो । बृद्ध अबस्थामा पनि राजाको निरंकुश शासनबिरुद्ध उनले जुन साहसका साथ आन्दोलनको नेतृत्व गरे । त्यो युवाहरुको लागि मात्र होइन, अन्य नेताहरुको लागिसमेत प्रेरणाको स्रोत थियो ।

त्यसैगरी सशस्त्र विद्रोहमा होमिएका माओवादीहरुलाई सात दलीय गठबन्धनसंगको १२ बुँदे सहमतिमा ल्याउन उनले जुन साहस देखाए त्यसले मुलुकको दिशा नै परिवर्तन गरिदियो । माओवादीसंगको १२ बुंदे समझदारीका लागि उनी नयाँ दिल्लीसम्म पुगे ।

त्यही १२ बुंदेको समझदारीको बलमा भएको १९ दिने आन्दोलनका कारण नै निरंकुश राजा झुक्न बाध्य भयो । उनले लगातार रुपमा उठाउँदै आएको प्रतिनिधिसभाको पुनस्थापना भयो । फेरी एक पटक जनताको जीत भयो जुन कामको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

उनी अन्तरिक सरकारमा प्रधानमन्त्री बने । उनले साहसका साथ माओवादीलाई शान्ति प्रकृयामा ल्याए । २०६३ मंसिर ५ गते माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता भयो । यस कार्यका लागि उनलाई आलोचना गर्नेहरु पनि छन् । तर, उनले लिएको बाटो सही थियो भन्ने कुरा पुष्टि भइरहेको छ ।

एजेण्डा माओवादीकै भएपनि उनले माओवादीसंगको सहमतिको क्रममा संविधानसभालाई स्वीकार गरे । गणतन्त्रलाई अंगिकार गरे । संविधानसभाको चुनावमा माओवादी सबैभन्दा ठूलो दलको रुपमा स्थापित भयो । एउटा उग्रकम्युनिष्ट सशस्त्र विद्रोहीलाई संसदीय चुनावको बाटोबाट उनले अबतरण प्रयास जारी राखे ।

माओवादीले सरकार छाडेपछि जुन आन्दोलनको सुरुवात भयो । त्यसको स्थगित र राजनीतिक विषयहरुमा छलफलका लागि गिरिजाप्रसाद नै फेरी आवश्यक पर्‍यो । उनैको नेतृत्वमा शान्ति र संविधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको गठन भए । उनी अस्वस्थ थिए । यद्यपी उनले लागातर रुपमा संघर्ष गरिरहे । यही साता गंगालाल हृदयरोग केन्द्रबाट र्फकंदै गर्दासमेत उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भनेका थिए, 'अव जिम्मेवारी तपाईको हो सम्ंहाल्नुस ।' उनले आफ्नो अन्तिम साससम्म पनि मुलुकको राजनीतिक अबस्था, शान्ति र संविधानका सम्बन्धमा चिन्ता गरिरहेको यसले देखाउँछ ।

यद्यपी उनलाई एकातिर छोरी मोहमा लागेको आरोप लगाइएभने अर्को तर्फ एक समय उनका सबैभन्दा नजिक भएर हरतरहका अवसरमा लिएका खुमबहादुर खड्कालगायतले माओवादीलाई शान्ति प्रकृयामा ल्याएको विषयलाई लिएर अलोचना गरिरहे । उनलाई गाली गर्नेहरु नभएका होइनन् । तर, उनको अनवरत संघर्ष नेपाली राजनीतिक लागि सधै पछ्याउनु पर्ने इतिहास हो । इतिहास पुरुष गिरिजाप्रसादलाई हाम्रो पनि भावपूर्ण श्रद्धाञ्जली ।

Friday, March 19, 2010

सल्यानमा अर्को रेडियो सञ्चालनमा

गिरी पुरुषोत्तम
सल्यानमा आजदेखि अर्को सामुदायिक एफएम सञ्चालनमा आएको छ । गाँऊवेसी सुचनाकेन्द्र सल्यानद्धारा सञ्चालित रेडियो गाँऊवेसीले आजदेखि आफ्नो परिक्षण प्रशारण शुरु गरेको हो । एक सय वाट क्षमताको रेडियो गाँऊवेसी चौविसै घण्टा प्रशारण हुने रेडियोका अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो । रेडियो सल्यान सदरमुकामदेखि पुर्वी क्षेत्र सल्यान, दाङ्ग र रोल्पाको सिमावर्ती गाविस धनवाङ्गमा रहेको छ । रेडिया्े राप्ती अञ्चल सहितका एक दर्जन जिल्लामा सुनिएको बताईएको छ ।