वामपन्थी आन्दोलनको नयां धार र माओवादी द्विविधा
प्रदीप ज्ञवाली
भर्खरै सम्पन्न निर्वाचनमा दिल्मा ¥युसेफ ब्राजिलको राष्ट्रपति पदमा निर्वाचित भइन् । १६ बर्षको उमेरदेखि वामपन्थी राजनीतिमा सङ्लग्न दिल्मा १९६४ मा ब्राजिलमा सैन्य तानाशाही स्थापना भएपछि त्यसका विरुद्ध लड्न ‘नेशनल लिबरेशन कमाण्ड (कोलिना)’ नामक छापामार सङ्गठनको सदस्य बनेर सशस्त्र युद्धमा होमिएकी थिइन् । तीन बर्षसम्म कठोर जेल जीवन र यन्त्रणा भोगेकी यी पूर्व छापामार नेतृको ल्याटिन अमेरिकाको सर्वाधिक शक्तिशाली राष्ट्रको सर्वोच्च कार्यकारी पदमा विजयले खास अर्थ राख्छ ।
अमेरिका समर्थित सोमोजा तानाशाही शासन विरुद्ध सशस्त्र सङ्घर्ष गरेर चर्चित रहेका र १९८५ को राष्ट्रपति निर्वाचनमा विजयी माक्र्सवादी डानियल ओर्टेगा लामो अन्तरालपछि फेरि निर्वाचनमार्फत् सत्तामा फर्केका छन् । १९९० को निर्वाचनमा अमेरिका समर्थित र कोन्ट्राहरूको सहयोगप्राप्त भायोलेता चमारोसँग पराजित भए पनि यी पूर्व सशस्त्र विद्रोहीले लोकतन्त्र र शान्तिको बाटो परित्याग गरेनन् । फलतः २००६ मा भएको निर्वाचनमा उनी पुनः राष्ट्रपतिमा विजयी भएर यो मुलुकलाई नयाँ निर्माणको दिशामा नेतृत्व गरिरहेका छन् ।
‘समाजवादी आन्दोलन’ नामक अभियानका नेता इभो मोरालेज २००५ मा भएको निर्वाचनमा बोलिभियाको राष्ट्रपति पदमा विजयी भए । आदिवासी जनजाति र समग्र राष्ट्रको पक्षमा काम गर्दै जाँदा उनले २००८ मा भएको जनमत सङ्ग्रहमा दुई तिहाई भन्दा बढी बोलिभियाली जनताले उनलाई प्रत्याह्वान गर्ने प्रस्तावलाई अस्वीकार गर्दै पदमा बहाली रहन आदेश मात्रै दिएनन्, २००९ मा उनले ६३ प्रतिशत लोकप्रिय मतद्वारा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचन जितेका छन् । यो त्यही बोलिभिया राष्ट्र हो, जहाँ चे ग्वेभाराले क्युबाको जस्तै सशस्त्र क्रान्तिको बिऊ रोप्न क्युबा छाडेर त्यहाँ पुगेका थिए र जहाँ उनको सिआइएको षडयन्त्रमा कायरतापूर्ण हत्या गरिएको थियो ।
अमेरिकाको लगातार विरोध र घेराबन्दीका बाबजुद भेनेज्वेलामा राष्ट्रपति ह्युगो चाभेजको ‘क्रेज’ बढेको बढ्यै छ । जनताको अभिमतबाट पनि विजयी बन्न, राष्ट्रिय हितका लागि लड्न र साम्राज्यवाद विरुद्ध आन्दोलन चलाउन सकिन्छ भन्ने दृष्टान्त उनले प्रस्तुत गरेका छन् । लामो गृहयुद्धपछि एल साल्भाडोरको शान्ति प्रकृया अगाडि बढेको छ र यतिबेला त्यहाँ पूर्व वामपन्थी छापामार आन्दोलन ‘फाराबुन्दो मार्ती राष्ट्रिय मुक्ति मोर्चा’ को समर्थनमा टिभी पत्रकार म्याउरियो फ्युनेस राष्ट्रपति बनेका छन् । पूर्व वामपन्थी छापामारहरू निर्वाचनमा विजयी बनेका छन् ।
कुनै बेला ‘साइनिङ पाथ’ लाई माओवादी विद्रोहको नमूना मानिन्थ्यो, एण्डिज पर्वतमालामा विद्रोह फुल्दै गरेको सपना देखिन्थ्यो र नेपालमा माओवादी पार्टी नबन्दै हाम्रा मसालका साथीहरू ‘गो याङ्की गो होम, हाम्रो रातो झण्डा पेरुमा फर्फराउँदैछ’ भन्ने गीत गाउँथे । ‘माओवाद’ पदावलि प्रयोग गर्ने व्यक्तिमध्ये डा. गोञ्जालो पनि थिए र त्यसको पेरुमा भएको ‘सिर्जनात्मक प्रयोग’ लाई ‘गोञ्जालो विचारधारा’ भनिन्थ्यो । (यसैको भद्दा अनुशरण थियो नेपालमा ‘प्रचण्डपथ’ ।) कुनै बेला लिमामा दिउँसो मात्रै सरकारको नियन्त्रण हुन्छ, राति त त्यो साइनिङ पाथको छापामारको कब्जामा हुन्छ समेत भनिन्थ्यो । सरकारले वार्ताको निम्ति आह्वान गर्दा गोञ्जालोले अभिमानकासाथ ‘प्रतिकृयावादी सरकारसँग वार्ता गर्न’ अस्वीकार गरेका थिए । तर आज स्थिति बदलिएको छ । साइनिङ पाथ ध्वस्तप्रायः भएको छ र जेलबाट गोञ्जालोले गरेको वार्ताको आह्वान सुन्न कोही तयार छैन । हिंसालाई क्रान्तिको अनिवार्य साधन र माक्र्सवादी सिद्धान्तको अविभाज्य अङ्ग ठान्ने ‘टुपाक अमारो’ र कोलम्बियाको विद्रोहीहरूको क्षयीकरण पनि तीव्र बनेको छ ।
ल्याटिन अमेरिकाले वामपन्थी आन्दोलनको नयाँ धारलाई प्रतिविम्वित गरिरहेको छ । हो, यसमा जोखिम पनि छन् । कुनै बेला निर्वाचनबाट सत्ता जितेका लोकप्रिय राष्ट्रपति साल्भाडोर एलेण्डेसहित चिलीका हजारौं समाजवादीहरू मारिएका थिए । त्यतिबेला सिआइएको बिगबिगी र अमेरिकाको समर्थनमा सैन्य तानाशाही दक्षिण अमेरिकाको चारित्रिक विशेषता बनेको थियो । तर यतिबेला स्थिति केही बदलिएको छ । आफ्नै पोष्यपुत्र तानाशाह पिनोसे, फुजिमोरी र इण्डोनेसियाको सुहार्तोलाई जोगाउन सक्ने अवस्थामा अमेरिकासमेत छैन ।
तानाशाह मार्कोस विरुद्धको ऐतिहासिक आन्दोलनमा फिलिपिनी कम्युनिष्ट पार्टी कहीँ कतै देखिएन । जबकि उसले लामो समयसम्म सशस्त्र सङ्घर्ष चलाएको थियो र उसँग हजारौं छापामारहरू साथमा थिए । तर ‘वुर्जुवा प्रजातन्त्रको निम्ति आन्दोलन’ मा सहभागी हुन र अगुवाइ गर्न उनीहरूले आवश्यक ठानेनन् । कोराजोन अक्विनो आन्दोलनकी ‘आइकन’ बनिन् । हुँदाहुँदा त्यस सरकारसँग वार्तालाई समेत लत्याएर अघि बढ्न खोज्दा फिलिपिनी कम्युनिष्ट पार्टी आज असान्दर्भिक जस्तै बन्न लागेको छ । होजे मारिया सिसोंले युरोपमा निर्वासित जीवन बिताउँदै क्रान्तिका किताब लेखे पनि त्यो कार्यान्वयन हुने संभावना क्षीण बन्दै गएको छ ।
यही कुरा बर्मामा पनि लागू हुन्छ । कुनै बेला त्यहाँको कम्युनिष्ट पार्टीले आधा भूभागलाई आफ्नो मुक्ति क्षेत्र बनाएको छ भन्ने गरिन्थ्यो । तर जब सैनिक तानाशाही सुरु भयो, कम्युनिष्ट पार्टीले कुनै प्रतिवाद गर्न सकेन । जनताको सरोकारका मुद्दाबाट अलग हुँदा त्यो अप्रासङ्गिक र क्षतिग्रस्त बन्दै गयो । आज खासै राजनीतिक पृष्ठभूमि नभएकी आङ सान सु की बर्मामा प्रजातन्त्रको पर्याय र जनताको आशाको केन्द्र बनेकी छिन्, तर कम्युनिष्ट पार्टी कहीँ छैन ।
माथिका केही सन्दर्भ उल्लेख गर्नुको अर्थ हो– वामपन्थी या समाजवादी आन्दोलनका आएको नयाँ सन्दर्भ, नयाँ अवसर र नयाँ चुनौतीको चर्चा गर्नु र जनताका अधिकारका लागि, जनता जहाँ छन् त्यहीं साथमा रहेर लड्न सके मात्रै पार्टीहरू जीवित रहन सक्छन् भन्ने तथ्यलाई उजागर गर्नु । ती वामपन्थीहरू जसले जनतामाथि भरोसा गर्छन्, समाजको शान्तिपूर्ण रूपान्तरण संभव छ भन्ने विश्वास गर्छन् र जो लोकतान्त्रिक विधिबाट अगाडि बढ्न तयार छन्, तिनीहरू सफलता पाइरहेका छन् । तर हिंसालाई अनिवार्य ठान्ने र सर्वहारा अधिनायकत्वको नाममा एकदलीयताको पक्षपोषण गर्ने धार निरन्तर खस्किरहेको छ । प्रजातन्त्रको अभाव भएको बेला, सत्ता नाङ्गो हिंसाका उत्रिएको बेला, वैधानिक ढङ्गले अगाडि बढ्ने सबै ढोका बन्द भएको बेला सायद हिंसा पनि कुनै बेला आन्दोलनको वाध्यात्मक साधन बन्दो हो । तर हिंसा कहिल्यै पनि क्रान्तिको अनिवार्य साधन बन्न सक्दैन । त्यसमाथि पनि, शान्तिपूर्ण ढङ्गले अगाडि बढ्ने संभावना मौजुद भएको बेला र लोकतान्त्रिक विधिबाट आन्दोलन अगाडि बढाउन सकिने अवसर विद्यमान भएको बेला हिंसालाई साधन बनाउनु, त्यसलाई आस्था र आदर्शको बिषय बनाउनु भूल हो । यस्तै, समाजवादी लक्ष्यको तुलनामा ‘वुर्जुवा प्रजातन्त्र’ अपर्याप्त, अपूर्ण र तल्लो तहको प्राप्ति मात्रै हो । तर सामन्तवाद समाप्त भइनसकेको समाजमा यही प्रजातन्त्र पनि अग्रगामी कुरा हो र यसलाई मजबुत नगरी समाजवादमा प्रवेश गर्न खोज्नु घरको जगै नहाली दोस्रो तलामा जान खोज्नु जस्तै हो । समाजवादी मूल्य र वामपन्थी धारको सान्दर्भिकता आजको दिनमा झनै बढेको छ– तर त्यो लोकतान्त्रिक विधिबाट मात्र प्राप्त हुन सक्छ ।
यतिबेला सिङ्गै देशको ध्यान माओवादीको पालुङटार विस्तारित बैठकतिर केन्द्रित छ । त्यहाँ चलिरहेको छलफलको एउटा विषय छ– सङ्घीय लोकतान्त्रिक गणतन्त्र वुर्जुवा गणतन्त्र हो, त्यसमा केन्द्रित हुनु यथास्थितिवादी हुनु हो । हामी सिधै जनताको गणतन्त्रमा जानु पर्छ । त्यसका लागि ‘जनविद्रोह’ अनिवार्य छ । अबको कार्यदिशा त्यही विद्रोहको तैयारीको हुनुपर्छ । एमाले, काङ्ग्रेस जस्ता यथास्थितिवादी शक्तिसँग मिलेर शान्ति र संविधान असंभव भएकोले अब ‘देशभक्त, राष्ट्रवादी र प्रगतिशील’ शक्तिसँग मिलेर ‘भारतीय विस्तारवाद’ विरुद्ध ‘राष्ट्रिय स्वाधीनतको लडाइँ लड्नुपर्छ’, ‘वर्गयुद्धलाई राष्ट्रिय मुक्ति युद्धमा विकास’ गर्नुपर्छ ।
नेपालको माओवादीहरू अब कुन बाटो हिंड्लान् ? साइनिङ पाथ, होजे मारिया सिसों र संसारका अन्य अतिवामपन्थीहरू हिडेको बाटोमा कि लोकतान्त्रिक रूपान्तरणकासाथ शान्तिपूर्ण बाटोमा ? आफूलाई लोकतान्त्रिक रूपान्तरण गरे भने उनीहरूका लागि पर्याप्त स्पेस छ । जनतामा अहिलेका लोकतान्त्रिक शक्तिप्रति पनि पर्याप्त गुनासा छन् । काङ्ग्रेस अहिले पनि सामाजिक–आर्थिक परिवर्तनका मुद्दामा अनुदार छन् भने एमाले विचार राम्रो भए पनि कार्यान्वयन गर्न नसकेर आलोचित छ, कमजोर बनिरहेको छ, भुत्ते बन्दै गएको छ । मुलुकमा यस्तो राजनीतिक शक्तिको खाँचो छ, जो अन्तर्वस्तुमा क्रान्तिकारी होस्, परिवर्तनकारी होस् र त्यो परिवर्तन शान्तिपूर्ण ढङ्गले र लोकतान्त्रिक विधिबाट प्राप्त हुन सक्छ भन्ने कुरामा प्रतिवद्ध होस् । रूपान्तरित हुने हो भने माओवादीले त्यो खालि ठाउँ लिन सक्छन् । तर आफैले रगत बगाएर ल्याएको गणतन्त्रलाई ‘वुर्जुवा र यथास्थितिवादी’ भन्दै अस्वीकार गर्ने, जनताले खोजेको र आफैले पनि प्रतिवद्धता जनाएको शान्ति प्रकृयालाई ‘आत्मसमर्पण’ को रूपमा अथ्र्याउने र यसलाई दाउपेचको रूपमा प्रयोग गर्ने, आफूलाई खोलो तार्ने लोकतान्त्रिक शक्तिहरूलाई ‘प्रतिगामी’ र ‘यथास्थितिवादी’ ठान्ने र ‘राष्ट्रवाद’को नाममा राजावादीहरूसँग एकता गर्न खोज्ने हो भने माओवादीको अधःपतनलाई कसैले रोक्न सक्नेछैन । त्यसै पनि कमल थापाले उनीहरूलाई ‘जनवादी या सांस्कृतिक राजासहितको प्रजातन्त्रमा आउन’, ‘राजावादी र माओवादी मिलेर भारत र संसदवादी पार्टीविरुद्ध लड्न र संविधान विघटन गर्न’ आह्वान गरिसकेका छन् ।
उग्रवामपन्थताले कसरी दक्षिणपन्थताको सेवा गर्छ भन्ने उदाहरण हेर्न यहाँभन्दा अन्त कतै जानु पर्छ र ?
कmचष्तष्ज्ञढटद्द२नmबष्।िअयm
No comments:
Post a Comment