Wednesday, July 24, 2013

राप्ती राजमार्ग र हाम्रो रिपोर्टिङ्ग

 
पुरुषोत्तम गिरी
 वर्षाका कारण ठाँउठाउँमा ठुल्ठुला पहिरो गएपछि राप्ती राजमार्गको यातायात बन्द भएको छ दिन पुगिसकेको थियो ।  पहिरो हटाएर यातायात सुचारु बनाउनका लागी सम्वन्धित निकायहरु लागिपरेका थिएनन् । तै पनि यातायातका साधन पुर्ण रुपमा चल्न सकेका थिएनन् । दिनहुँजसो टेलिफोनमा आउन प्रायको प्रश्न हुन्थ्यो । राजमार्ग खुल्न कति दिन लाग्छ ? यो प्रश्नलाई हामी पनि जस्ताको तस्तै प्रमुख जिल्ला अधिकारी समक्ष राख्ने गर्दथ्यौँ । उहाँको पनि सधैजसो उत्तर  उहि आउथ्यो, हामी प्रयासरत छौँ । भोली सम्ममा यातायात सुचारु गराउन सकिन्छ की । असारको अन्तिम दिन सोमबार आएका पहिरोहरु हटाउन निकै प्रयास भएतापनि राप्ती राजमार्गको दाङ्ग सल्यान सडकखण्ड अन्र्तरगत राम्री देखि शंखमुल सम्मको क्षेत्रमा साढे चार सयवटा ठुलो सानो पहिरो गएका थिए । अझ अरिङ्गाले देखि टुनिबोट सडकखण्डको विचमा सडकमा खसेको ठुलो चट्टान नै टाउको दुखाइको विषय बनेको थियो ।
भोलीभोली भन्दाभन्दै छ दिन वितिसकेपछि हामी केहि पत्रकार साथिहरुले सल्लाह गरेर रिपोटिङ्गमा निस्कने निधो ग¥यौँ । विहान ९ बजेतिर खलंगाबाट अन्नपुर्ण पोष्टका रेशम डिसि, राष्ट्रिय समाचार समितिका रमेश कुमार वली, नयाँ युववोध दैनिकका राजेश शर्मा, सल्यान टेलिभिजनका पदम गिरी र म समेत ५ जनाको टोली खलंगाबाट सडक अवरुद्ध भएको क्षेत्रतर्फ लाग्यौँ । जतिजति अघि बढ्दै थियौँ । ठुल्ठुला पहिरोका कारण सडक क्षत्विच्छेद भएको सहजै देखिन्थ्यो ।
    शंखमुलको पुल तरेर केहि पर पुग्ने वित्तिकै हामी रोकियौँ । भर्खरै पहिरो झरेका कारण त्यहाँ बाटो अवरुद्ध भएको थियो । पहिरो झर्ने क्रम जारी थियो । दुवै तर्फका गरि स्थानिय रुटमा चलिरहेका आधा दर्जन गाडिहरु र एक दर्जन वाइकहरु रोकिएका थिए । उताबाट खलंगा आउदै गरेका नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष रमेश कुमार गौतम, सल्लाहकार करण शर्मा लगायतसँग त्यहाँ भेट भयो । करणदाईले फोन गरेर पहिरो हटाउनका लागी डोजर पठाउन लाग्नुभयो । हामी त्यहाँ भेला भएका झण्डै एक दर्जन पत्रकारहरुले बाटोका विषयमा झण्डै आधा घण्टा गफियौँ । कतिपयले राजमार्गको भविष्यको चिन्ता गर्दै थिए त कतिले यातायातलाई एक हप्ता सम्म पनि सुचारु बनाउन नसकेको भन्दै सम्वन्धित निकायको आलोचना गर्दै थिए । सडक यातायात सुचारु बनाउनका लागी नेपाली सेनाले वलाष्टिङ गरिरहेको आवाज आइरहेको थियो । बाटोको पहिरो हटाउन केहि समय लाग्ने भएपछि हामी गाडिलाई त्यहि छाड्दै साथिहरुका वाइकमा सेट भएर अगाडि बढ्यौँ । लुहाम भन्दा केहि पर पुगेपछि एउटा होटेल आउछ, त्यहाँ झण्डै एक दर्जन गाडिहरु रोकिएका थिए । नेपाली सेनाको पहिरो हटाउन खटिएको टोली, सडक निमार्णको जिम्मा लिएको ठेकेदार कम्पनि, यातायात व्यवसायी लगायतले सडक अवरुद्ध भएदेखि खाना खाने ठाँउ त्यहि रहेछ । उनिहरुले खाना खाने समय भएको रहेछ । हामीले पनि त्यही खाँना खायौँ र बाटोको अवस्थाको बारेमा थप वुझ्ने प्रयास ग¥यौँ । यातायात व्यवसायीहरुले यातायातका साधान थन्क्याउदा परेको पिडा पोखे । घरजग्गा धितो राखेर ऋण निकालेर व्यवसाय गरेका, किस्ता तिर्दै गाडि किनेका व्यवसायीसँग किस्ता कसरी तिर्ने भन्ने पिरलो थियो । सडक निर्माणमा खटिएको सन्तोषी निर्माण सेवाका निरन्जन कडेँल सँग भेट गरेपछि उहाँले बाटोको अवस्थाको बारेमा सामान्य जानकारी गराउनुभयो । उहाँले खटाएको एकजना सहयागी सहित हामी अघि बढ्यौँ ।
    सल्लेखोला भन्दा केहि पर पुगेपछि हामीले पहिरोले बगाएको घरको अवलोकन ग¥यौँ । दुईतले पक्की घर नै बगाएको रहेछ । छेउमै रहेको अर्को घरपनि जोखिममा परेपछि घरधनिले झ्याल ढोका निकालिसकेका रहेछन् । बाटोमा हिड्नेहरु दुखमनाउ गरिरहेका थिए भने कतिपयले ठाँउ अनुसार पहिले नै घर बनाउन नहुने भन्दै थिए । हामी अलि अगाडि बढेपछि ठुलो चट्टान खसेको ठाँउमा पुग्यौँ र राप्ती राजमार्ग नै अवरुद्ध पार्ने चट्टानको अवलोकनमा लाग्यौँ । चट्टान निकै ठुलो थियो, हेर्ने वेलामा वलल २० प्रतिशत मात्र ढुंगा बम विष्फोटका गरि हटाउन सकिएको देखियो । तर पनि गाडि पास गराउनका लागी ढुंगाको सडक पट्टीको उक चौथाई भाग मात्र हटाए पुग्ने थियो । केहि समयपछि नेपाली सेनाको खाना खान गएको टोली आएर काम शुरु ग¥यो, हामीहरु भने जानकारी टिपोट गर्न तथा फोटो र भिडियो लिनमै व्यस्त थियौँ । ओहोरदोहोर गर्ने मानिसहरुका कारण काममा अलिकति समस्या देखिन्थ्यो । कामको खोजीका लागी जाने सयौँ मानिसहरु ओहोरदोहोर गरिरहेका थिए । राप्ती राजमार्गमा गाडि चल्न नसक्दा सयौँ यात्रुहर हिडेर नै गन्तव्य पुग्न लागेका हुन्थे । सेनाले केहिवेरमा नै अर्को वम पड्काउने तयारीमा रहेको जानकारी दियो । केहि पैदल यात्रीलाई टुनिवोटमा रोकियो  । हामी भने अघि बढ्यौँ ।
     जति अघि बढ्दै जान्थ्यौँ उति ठुल्ठुला पहिरो देखिन्थे । पहिरो पन्छ्याउदै सर्तकता पुर्वक हामी अघि बढ्यौँ । तल खोलामा हेर्ने हो भने सवे बगर बनाएको थियो । वैँसका रुखहरुबाहेक खोला किनारका कुनै पनि रुखहरु वाँकी थिएनन् । खोलाले धानमात्रै नभएर खेत नै बगाएकोले त्यस क्षेत्रका ५० भन्दा बढि कृषकहरुले आफ्नो खेत ने खोज्नुपर्ने अवस्था थियो । जव हामी अरिङगाले फेदीमा पुग्यौँ, खोला निकै ठुलो थियो । पैदल यात्रीहरुलाई प्रति यात्रु ५० देखि १०० रुपैँया लिएर स्थानियले जोखिम मोलेर खोला वारपार गराउदै थिए । विचमै रोकिएका वाइकलाई एक दर्जन मानिस मिलेर पनि खोला तार्ने काम भेरहेको थियो । हामीले खोलाको प्रत्यक्ष अवलोकन ग¥यौँ । रेशम जि ले खोलाको बारेमा क्यामरामा आफ्नो वाइट दिनुभयो । खोला हेर्दा २० मिटर जति सडक बगाएको थियो । यसो भनौँ की सामान्य तरिकाले सडकको पुर्णनिर्माण गर्न फेरी केहि दिन कुर्नुपर्ने अवस्था देखिन्थ्यो । पारीबाट काम गर्न आएको डोजर खोला तर्न नसकेपछि फर्कियो । कतिपय मानिहरु विरामीलाई स्ट्रेचरमा वोकेर दाङतर्फ लाँदै थिए । विरामीका कुरुवाहरुले हामीसँग देखेसो पोख्ने काम गर्थे । हामी एकआपसमा सडकको विषयमा कुरा गर्दै थियौँ । खलंगाबाट पत्रकार प्रतिक ईच्छुक शर्माले फोन गरेर बाटोको अवस्थाको बारेमा सोध्नुभयो । मैले त्यतिखेर सम्म देखेको कुरा अवगत गराएँ । उहाँले पनि खलंगामा पानी परेको जानकार िगराएपछि हामी अगाडि बढेनौँ । किनभने केहिछिन पछि तयस क्षेत्रमा पनि पानी परेमा थप पहिरोहरु आउने डर थियो भने हाम्रो पनि सडकयात्रा भएकाले थप खतरा थियो । त्यस कारण वेलुकीको ४ बजेतिर हामी अरिङगालेवाट फिर्ता भयौँ ।
मितिः २०७० साउन ९ गतेको सल्यानी सन्देश साप्ताहिकमा प्रकाशित