Thursday, July 18, 2013

एउटा ढुंगाले रोक्यो सडक

पुरुषोत्तम गिरी/उज्यालो । सल्यान असार ३ - राप्ती राजमार्ग अन्र्तरगत दाङ्ग सल्यान सडकखण्डको ठाँउठाउँमा पहिरो झरेपछि चारदिनदेखि अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण गएको सोमबार दाङ्गको तुलसिपुरदेखि सल्यानको श्रीनगरसम्मको सडकमा एकसय वटा भन्दा धेरै साना ठुला पहिरो सडकमा झरेका थिए । अहिलेसम्म दुईवटा डोजर लगाएर तुलसीपुरदेखि सल्यानको कपुरको सम्म तथा सल्लेखोलादेखि श्रीनगरसम्मका पहिरो हटाइएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
पहिरो हटाउनका लागी अहिले पनि कपुरकोटबाट एउटा डोजर परिचालन गरिएको छ । सल्लेखोला नजिकै सडकमा झरेको ठुलो ढुंगा हटाउन सवै भन्दा समस्या देखिएको छ ।  तीन दिनदेखि ढुंगा हटाउन डोजर, लोडर लगायतका सामाग्रीहरु परिचालन गरिएपनि अहिलेसम्म १० प्रतिशत मात्रै ढुंगा फुटाइएको छ । सडकको ढुंगा हटाउन नसकेपछि वैकल्पिक सडक खन्न प्रयास भएपनि भिरालो ठाउँ भएकाले त्यो पनि सम्भव भएको छैन । अझैपनि ४० वटा पहिरोहरु हटाउन वाँकी छन् भने अरिङ्गगाले खोलाले बगाएको पचास मिटर सडक पनि बनाइएको छैन । लगातार काम भएका सडकको साना गाडि संचालन गर्न दुई दिन लाग्नेछ भने ठुला गाडी संचालनका लागि एक हप्तासम्म लाग्न सक्ने अनुमान छ ।
यातायात अवरुद्ध हुदा लाखौँ मुल्य बराबरको तरकारी कुहिएको छ भने यात्रुहरु पनि दुई तीन दिन हिडेर दाङ्ग पुग्ने गरेका छन् । सडक अवरुद्ध भएपछि जिल्लाबाट रिफर गरिएका विरामीलाई बोकेर वाहिर लैजाने गरिएको छ ।