Monday, July 15, 2013

तमासा

कार्तिक महिना जताततै तिहारको चहलपहलले गर्दा वातावरण निक्कै रमाइलो लाग्दो छ। ठाउँठाउँमा तिहारबजार खोलिएका छन् भने स्थापित बजारहरूमा नयाँ सामान थप गरिएकाले ग्राहकहरूको घुइँचो बढेको छ।

वर्षका दुई महान् चाड दसैँ र तिहार। ऋणधन जे-जस्तो बेहोर्न परे पनि संस्कृतिको जगेर्ना गर्न भनूँ या समाजमा इज्जत बचाउन भनूँ मान्नैपर्ने चलन छ। तसर्थ सबै किनमेलमा लागेका छन् र तिनले भन्न सक्ने एउटै भाखा छ - ‘‘कस्तो भाउदर बढेको, यसपालि त ?‘‘

स्थिति जस्तोसुकै होस् सडक भने रङ्गीचङ्गी छ। बालक, तन्नेरी, वृद्ध सबै रमाएका देखिन्छन् र आ-आफ्नो रुचिअनुसार पसलतर्फ लम्किँदै छन्।

यस्तै भीडमा बग्दै एक हातमा झोला र अर्को हातले छोरालाई डोर्‍याउँदै प्रेक्षा पनि किनमेलको धुनमै छिन्। लोग्ने जिल्लामा सरुवा भएपछि घरव्यवहारको सारा जिम्मा उनैमा आइपरेको छ। सासू-ससुरा वृद्ध र आफ्नो छोरो सानो। कसले सम्हालिदिने दिनदिनको घरको जरुरत ? झन् त्यसमाथि चाडपर्व आइपरेको छ। प्रेक्षाले छोटो अवधिभित्र नै सबै किनमेल सिध्याएर घर फर्कनु छ।

तर छोराले के बुझ्थ्यो आमाको चटारो। उसलाई सबै झिलमिलि हेर्नु छ र चाहेका माल, आफ्नै लागि किनेर तुरुन्त उपभोग गर्नु छ। ऊ आमासँग कचकच गर्न थाल्छ – बेलुन किनिदेऊ, ललिपप किनिदेऊ, तिहारमा बाल्ने झिरझिर किनिदेऊ भन्दै ठुस्किन्छ पनि, बाटैमा टक्क अडेर हिँड्‌दिनँ भनेर घुर्क्याउँछ पनि।

चार-पाँचबर्से बालकको हठ प्रेक्षाले के टार्न सक्थिन् र ! सबै काम छोडेर सानोलाई बेलुन, ललिपप किनिदिन करै लाग्छ। एकपटक त प्रेक्षालाई ती व्यापारीलाई, जसले बालकलाई लोभ्याउन यो-त्यो भनेर कराइरहन्छन् तिनलाई गएर चुप लाग भनुँ कि जस्तो मान्छिन्। तर अर्को मनले भन्छ के भन्नु तिनलाई पनि, यस्तैबाट कमाएक पैसाले आफ्ना सन्तानलाई पाल्नुपर्छ होला, कति नै कमाउलान् र ? फेरि ऊ एकजनामात्र पनि यस्तो व्यापारी हैन, पाइलैपिच्छे भनेजस्ता छन्। कतिलाई भन्ने !

‘‘लौ ऊ त्यो हरियो र रातो भएको बेलुन एउटा दिनोस्।‘‘ भनेर प्रेक्षाले ब्याग खोल्छिन्। सानो उसैले बिक्रीमा राखेको ललिपप पनि देखाउँदै भन्छ - ‘‘मलाई त्यो पनि एउटा, आमा ऊ त्यो मलाई कस्तो मीठो लाग्छ।‘‘

‘‘यसलाई लिएर त कहीँ पनि हिँड्न हुन्न, लौ अब छिटो हिँड्, भनेको कुरा पाइहालिस्‘‘ प्रेक्षा यति भन्दै छोरालाई छिटो हिँडाउने कोसिस गर्छिन्। सानो भने पहिले किनाउनमा अल्मल्याउँदै थियो भने अहिले त्यही खेल्दै चुस्दै मजा लिएर हिँड्नमा सुस्ती गर्दै छ।

उसको त्यस्तो चाला देखेर प्रेक्षा आफ्नो भाइलाई सम्झन पुग्छिन्। ऊ पनि सानोजस्तै थियो। उसलाई आमाले गाली गर्दा उनलाई लाग्थ्यो - ‘‘आमा पनि के हुनु भएको होला ? बालकले त्यसै त गर्छन् नि अहिले, हामीले चाहेर पनि त्यसो गर्न पाउँछौँ र ?‘‘

यो सम्झेपछि प्रेक्षाले सानोलाई केही भनिनन् र उसलाई उसैको मतापमा पेटीमा हिँड्न दिन्छिन्। फर्केर एक-दुईपटक हेर्छिन् पनि, ऊ उनकै पछिपछि आइरहेको हुन्छ। निश्चिन्त हुन्छिन् र छोरालाई ‘‘बाबु त्यो भकुन्डो हेर् त कस्तो लाग्यो, किनिदिऊँ ?‘‘ भन्दा छोराबाट जबाफ नआएकाले फर्केर हेर्छिन्। छोरालाई नदेख्दा उनी बौलाहीजस्तो गरी कराउन थाल्छिन्। मेरो छोरा.......... मेरो सानू कहाँ गयौ ? हूललाई धकेल्दै एकदुई व्यक्तिलाई सोध्छिन् पनि।

तर उनीहरूबाट नकारात्मक जबाफ पाएपछि प्रेक्षा धरहराको छेउमा चन्द्राकारमा थुप्रिएको हूलभित्र पस्छिन्, त्यसरी नै छोराको नाम बोलाउँदै। उनको मस्तिष्कमा टेलिभिजनमा दिएको ‘‘बालक हराएको सूचना‘‘ घुमिरहन्छ, जसले झन् उनलाई अत्याइरहन्छ।

हूललाई छेडेर अगाडि निस्कँदा त्यहाको दृश्य देखेर उनी स्तम्भित हुन्छिन्। बोल्न सक्तिनन् र दौडँदै छोरानजिक पुग्छिन्। उसलाई अँगाल्दै भन्छिन् - ‘‘कहाँ भागेको तँ ?‘‘

सानोले एक अचेत लडिरहेकी नारीको शरीरमा स्तन चुस्न सोज्दै रोइरहेको एक दूधे बालक देखाउँछ। कहिले त्यो तमासे हूललाई हेर्दै अत्तालिँदै रोइरहेको छ भने कहिले भोकले छाता खोतल्दै आमाको स्तन खोजिरहेको हुन्छ। सानोले किनेको बेलुन पनि त्यही बच्चाको छेउमा देख्छिन् र ललिपप त सानोले त्यही बच्चालाई चुसाइरहेको प्रेक्षाले त्यसैबेला देखेकी थिइन्।

छोराको अनुरोधमा त्यस बालकलाई हेरी प्रेक्षाले सानोलाई सम्झाउँदै भन्छिन् - ‘‘भयो, छोडिदे त्यो बेलुन, तँलाई म अर्को किनिदिन्छु। हिँड् अब, हेर साँझ पर्न लागिसक्यो।‘‘

प्रेक्षाले सम्झेकी थिइन् त्यो सानोले त्यो बेलुन, त्यो प्यारो बेलुन, जुन त्यस बच्चाले लिएको थियो त्यो ऊ फिर्ता लिन चाहन्छ, तर आश्चर्य ! उसले त्यो चाहेको थिएन। ऊ चाहन्छ त्यो बच्चालाई साथै घर लैजान। ऊ जिद्दी गर्न थाल्छ -‘‘आमा यसलाई पनि हाम्रो घर लैजाउँ न, हेर्नोस् न यसको आमा उठ्दै-उठ्दैन। यसलाई धेरै भोक लागेको छ। यो कसरी रोइरहेछ आमा, यो ललिपप पनि खाँदैन। केही पनि खाएन भने मर्छ भनेको होइन तपाईँले..... ? यो मर्छ आमा ! यसलाई साथै लगौँ।‘‘

प्रेक्षाले सम्झाउन थाल्छे छोरालाई - ‘‘त्यो बच्चालाई लैजान हुन्न। उसकी आमा उठेपछि उसलाई खोज्छे। हामीले लगेको थाहा पाएपछि उसको बाबुले हामीलाई गाली गर्छ, पुलिस बोलाउँछ अनि.......हिँड जाऔँ।‘‘

सानो तैपनि मान्दैन र अन्तिम अनुरोध गरेरै छोड्छ। ‘‘यसको आमालाई त उठ्न दिनोस्।‘‘ ऊ झर्को मानेर बोल्छ।

हूलबाट आवाज आउँछ - ‘‘के उठाउनु त्यसलाई, मरेको लास पनि उठ्छ ?‘‘

अर्को अग्रसर भएर भन्छ - ‘‘खुरुक्क लैजानोस् आफ्नो बच्चालाई, अनि यसको आमाको पनि दाहसंस्कार गर्न तयारी गर्नोस्। यस्तो अत्याचार पनि गर्न सुहाउँछ ? यसै पन्छिन कहाँ पाइन्छ र ! छोराले चिनेर छोड्नै मानेको छैन। पराइ हुँदो हो त त्यसरी बालक कहाँ झ्यामिन्छ र ? ‘‘

कुरा यसरी बढ्दै जान्छ। अर्को तमासे कराउँछ - ‘‘जिउँदो रहँदा केही गुण त लगाएकी होली। त्यतिमात्र सम्झेर पनि यसलाई डुङडुङ गन्हाउनबाट किन जोगाउनुहुन्न ? स्वास्नीमान्छे पनि कति निठुरी हुँदा रहेछन्, छिः !‘‘

अर्को झन् प्रचण्ड हुँदै भन्छ - ‘‘के थाहा लोग्नेको रखेल हो कि ?‘‘

यसरी बर्सिएका तमासेहरूको तीक्ष्ण वाक्य सुनेर उनी निथ्रुक्क भएर भिज्छिन् र अक्क न बक्क भई यताउति हेरिरहन्छिन् मानो उनी सत्यको सहाराको खोजीमा छिन्। जब कतैबाट पनि कुनै आवाज उनको पक्ष लिएर निस्किँदैन, प्रेक्षा विस्मित हुँदै छोरालाई पिट्दै भन्न थाल्छिन् - ‘‘तैँले आज कुन भुमरीमा पार्न आँटिस् ? के तमासा देखाउँदै छस् ? खुरुक्क हिँड्छस् कि तँलाई म यहीँ .........?‘‘

एक व्यक्ति हूललाई छिचोलेर प्रेक्षाको अगाडि आई धम्क्याउँदै भन्छ - ‘‘ए आइमाई राम्रो मुखले यसको जिम्मा लिन्छेस् कि हामी अगाडि सरौँ ?‘‘

प्रेक्षा अवाक् हुँदै रिसले काँपिरहन्छिन् र त्यसको अनुहार हेरिरहन्छिन् मानौँ त्यो कुन सभ्यता हो।

अन्यायले ल्याएको त्यो कम्पनले कुनै अनर्थ गराउनुभन्दा पहिले त्यस जमातको ध्यान त्यहीँ नजिकै झुत्रो पाखी ओडेर बसिरहेको बहुलाजस्तो व्यक्तिको खित्का सुनेर त्यतैतर्फ जान्छ। ऊ यति हाँस्छ कि हाँस्दाहाँस्दै रुन थाल्छ र पाखीलाई फ्याँकेर जुरूक्क ऊठ्छ।

त्यहाँको स्थिति गम्भीर त छँदै थियो, त्यस व्यक्तिको चालाले त्यसलाई अरू रहस्यमय बनाइदिन्छ। ऊ त्यस नारीको अचेत शरीरलाई दुई हातले छेकेर एकसुरले बोलिरहन्छ भने त्यहाँ जम्मा हूल अनौठो स्थितिको सिर्जना भएको देखेर स्तम्भित भइरहन्छन्।

ऊ भन्छ - ‘‘तपाईँहरू कसैले पनि यिनीहरूको पीर लिनुपर्दैन। यो मृत शरीर गन्हाउँदैन। यसको गन्धलाई मात गर्ने गन्ध हामी जीवितहरूले प्रशस्त बटुलिसकेका छौँ। यी समस्या लिएर जन्मे तमासे भएर बाँच्छन् र समस्या छोडेर बित्छन्, यस्तो नै देख्‍नुभयो, होइन ?‘‘

यहाँ एक मानव यस्तो अवस्थामा छ। यसमाथि उचित चाख कसले कुन मानवले राख्यो ? तमासा हेर्न थुप्रिए, कोही मद्दत गर्नसमेत डराएका छन् त कोही पन्छिने उपायले मनलागी बोल्दैछन्। हरे ! यो बच्चाको आँसु र यी नारीको स्थितिले कसैमा माया र सहयोगको भावना जगाएन। यहाँ यत्तिका हामी मानव थुप्रिएका छौँ, तर कुनै एकले पनि जान्न चाहेनन्। कि यो नारी मरिसकी या जीवितै छे।

अस्पताल पुर्‍याएर उपचार गराउन सकिन्थ्यो। त्यसतर्फ ध्यान दिनुभन्दा तमासा हेर्दै कसैलाई पोखरीमा माछा पक्रेझैँ आधारहीन लाञ्छना लगाएर समात्दै आफ्नो कर्तव्यबाट पन्छिन खोजिँदै छ। सहयोग गर्न हामीले किन जानिरहेका छैनौँ ? मानव-मानवबीच प्रेमको बन्धन ल्याउने सहयोगले नै हो भन्ने किन बिर्सिरहेका छौँ। विवेक, सहयोग र माया भन्नु नै त मानवधर्म हो।‘‘

एक क्षण ऊ चुप लाग्छ अनि भन्छ- ‘‘ यस्ता गुण प्राप्त प्राणी मानव नै हुन्। यसलाई प्रमाणित गरिदिएको छ यस बालकले, तपाईँको यो अज्ञान छोराले। दयामाया गर्नु प्राकृतिक देन हो, यसलाई सभ्यताको झुटो परिभाषा बनाएर नदबाऔँ। कृपया यस बालकलाई चड्काएर रुवाएर मानवताको अपहेलना हामी आफैँ नगरौँ। हामी मानव मानवै भएर बाँच्न सिकौँ। यसरी तमासामात्र हेर्ने बानी छोडेर एक विवेकशील प्राणीले गर्नुपर्ने व्यवहार गरौँ। हामी सबैको हृदय, यस बालकको जस्तो कञ्चन हुँदो हो त ?‘‘

‘‘मानवता सुरक्षित रहने थियो अनि तमासा हेर्ने कोही हुँदैनथे ?‘‘

यो दोस्रो आवाज हो त्यो अचेत नारीको। ऊ उठेर भन्छे - ‘‘आज हामीले मानवता कति जीवित छ भनेर जाँच्न यो सडकनाटक मञ्चन गरेका थियौँ। दर्शक आफैँ नाटककार भएर आई प्रत्यक्ष देखाइदिए, मानवता अझै जोगिनसक्छ, तर यसलाई फस्टाउने वातावरणको शक्त खाँचो छ।

हामीले नाटकको लागि दृश्यमात्र सिर्जना गरेका थियौँ। भावनाहरू आफैँ पोखिन थाले। हामीले आफ्नो परिचय पायौँ। प्राकृतिक वातावरण नष्ट हुँदै गएझैँ हाम्रा प्राकृतिक भावनाहरू पनि दबिँदै गइरहेका छन्। यसलाई जौगाऔँ, साथी ! हामी मानव बनौँ। दयामाया र सहयोग गर्न सिकौँ।‘‘

यत्तिकैमा एक व्यक्ति दौडेर ती दुई नारी-पुरुष (नायक-नायिका) को अगाडि परेर झोलाबाट टेपरिकर्डर र माइक झिकेर सोध्छ - ‘‘तपाईँहरूले यस नाटकलाई कस्तो मान्नुभएको छ ? सफल या असफल ?‘‘